काठमाडौं- गायिका सुनिता दुलालको तस्विर उनकी शुभेच्छुकले सगरमाथा पुर्याइदिएकी छन्। निमा ल्हामु शेर्पाले आफ्नै प्रिय गायिकाको तस्विर सगरमाथामा पुर्याएकी हुन्।
सगरमाथा आरोहणपछि सामाजिक सञ्जालमा तस्विर पोष्ट गर्दै निमाले लेखेकी छिन्, 'सहयोगी मन, शालिन व्यक्तित्व र प्रिय गायिकाको तस्विर सगरमाथामा पुर्याउन पाउँदा खुशी लागेको छ।'
कलिलै उमेरमा लोक संगीततर्फ लागेर दिइरहेको निरन्तरताले आफूलाई फ्यान बनाएको उनले उल्लेख गरेकी छिन्। उनी युवाका लागि उत्प्रेरणा रहेको बताउँदै उनको व्यक्तित्वले आफूलाई सुरुदेखि नै प्रभावित पारेको बताएकी छन्। यही कारणले आफूले गायिका दुलालको तस्विर सगरमाथाको चुचुरोमा पुर्याएको उनको भनाइ छ।
गायिका दुलालले आफूले जीवनकै सुन्दर उपहार प्राप्त गरेको प्रतिक्रिया दिएकी छिन्। सामाजिक सञ्जालमा तस्विर पोष्ट गर्दै उनले भनेकी छिन्, 'आरोहणका क्रममा मेरो तस्बिर सर्वोच्च शिखरमा पुर्याएर तपाईले मलाई जीवनकै अमूल्य उपहार दिनुभएको छ। यसले मलाई जीवनमा थप अगाडि बढ्ने मात्र नभएर देश समाज, मेरा दर्शकश्रोताप्रति अझ बढी जिम्मेवार बन्ने हौंसला र प्रेरणा दिएको छ।'
शिखर चुम्ने रहर निमाले पूरा गरिदएको उनको अनुभूति छ। उनको प्रतिक्रिया छ, 'सगरमाथाको शिखर चुम्ने रहर कल्लाई पो नहोला र, म अछुतो रहुँ । त्यो माथि विश्वकै सर्वोच्च शिखर सगरमाथा। कल्पना मात्र गर्दासमेत मनै रोमाञ्चित हुन्छ। जीवनै जोखिममा राखी कलिलो उमेरमै सगरमाथा चुम्ने निमा ल्हामु शेर्पाको बहिनीको अदम्य साहसप्रति नतमस्तक छु।'
दुलालका अनुसार निमाको परिवारका ८ सदस्यले यसै वर्ष सगरमाथा चढेर कीर्तिमानी बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।