काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बजार प्रतिस्पर्धी हुने गरी घटाउन नेपाल आयल निगमलाई निर्देशन दिएको छ। उड्डयन मन्त्री भानुभक्त ढकालको कार्यकक्षमा सरोकारवाला निकायसँगको छलफलमा हवाई इन्धनको मूल्य घटाउन निर्देशन दिएका हुन्।
छलफलमा उद्योग,वाणिज्य तथा आपूर्ति सचिव, पर्यटन सचिव, नेपाल वायुसेवा निगमका महाप्रबन्धक, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक र नेपाल आयाल निगमका कार्यकारी प्रमुखको उपस्थिति रहेको थियो।
छलफलको क्रममा निगमका प्रमुख सुरेन्द्र पौडेलले भण्डार क्षमताका लागि प्राधिकरणले जग्गा उपलब्ध गराएको अवस्थामा दिर्घकालिन रुपमा नै इन्धनको मूल्य घटाउने बताए। भण्डार क्षमता कम रहेका कारण पनि इन्धनको मूल्य बढी भएको उनकाे तर्क छ।
‘अहिले थोरै बेच्दा बढी नाफा लिएका छौं,’ पौडेलले भने, ‘भण्डार क्षमता बढाएर बढी बेच्दा कम नाफा लिँदा पनि फाइदा नै हुन्छ। एयरलाइन्स कम्पनीको पनि खर्च घटने र नेपालको बारेमा फैलिएको नकारात्मक सन्देश हट्दै जान्छ।’
तत्कालका लागि पनि निगमले घाटा नहुने र पछि बिक्री हुने अवस्थालाई हेरेर मूल्य समायोजन हुने उनले बताए। अहिले आयाल निगमले बिक्री गरेको हवाई इन्धनको मूल्य बढी भएको भन्दै हवाई सेवा प्रदायक कम्पनीहरुले विरोध जनाउँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।