काठमाडौं- दोस्रोपटक कोरोना जितेका कलाकार मदनकृष्ण श्रेष्ठले जनतालाई तत्काल खोपको व्यवस्था गरेर ज्यान बचाउन सरकारसँग माग गरेका छन्। उनले सरकारले कोरोनालाई प्राथमिकतामा राखेर जति सकिन्छ सबैतिरबाट छिटो खोप ल्याउन आग्रह गरेका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यस्तो आग्रह गरेका हुन्। 'सबैतिरबाट जति सकिन्छ छिटो भ्याक्सिन बटुलेर जनतालाई भ्याक्सिन दिएर जनताको ज्यान बचाउनतिर लाग्न सम्झाउन चाहन्छु। जनता नै भएन भने कसलाई शासन गर्ने? हैन त?', श्रेष्ठले लेखेका छन्।
आफू दोस्रोपल्ट कोरोना संक्रमित भएर मेडिसिटी अस्पतालमा १४ दिन उपचार गराएर घर फर्केको एक हप्ता कटिसकेको श्रेष्ठले बताएका छन्।
'डाक्टरहरुले मलाई तपाईंको शरीरमा अब एन्टिबडी बनिसकेको छ। अब तपाईंको शरीरमा अरु कसैबाट पनि कोरोनाभाइरस सर्दैन र तपाईंबाट पनि अरुलाई सर्दैन भनेका छन्', श्रेष्ठले लेखेका छन्।
उनले अब शरीरमा अलिअलि शिथिलता बाँकी रहेको र त्यो पनि अलि अलि गर्दै कम हुँदै गएको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।