काठमाडौं- नेपाली काँग्रेसले आगामी आर्थिक वर्षका लागि सरकारले सार्वजनिक गरेको बजेटलाई ‘हावादारी गफ’को निरन्तरता भएको जनाएको छ।
सोमबार बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्दै काँग्रेसले बजेटमा कार्यान्वयन हुनै नसक्ने कार्यक्रम राखेर सरकारले जनताको आँखामा छारो हाल्न खोजेको आरोप लगाएको छ। कामचलाउ सरकारले बजेट ल्याउनै नपाउने अवस्थामा छलछाम गरेर पूर्णबजेट ल्याएको भन्दै कांग्रेसले सरकारको आलोचना गरेको छ।
‘झण्डै साढे तीन वर्षदेखिको शासनको असफलतापछि पनि हावादारी गफबाट नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन सकिन्छ भन्ने भ्रमबाट सरकार अझै मुक्त हुन सकेको छैन,’ कांग्रेसले भनेको छ, ‘अघिल्लो वर्षभन्दा डेढ गुणा लामो ५०३ बुँदे वक्तव्यमा एकातिर अघिल्ला केही वर्षदेखि कार्यान्वयनमा रहेका सबै योजनाहरूको फेहरिस्तलाई नयाँ योजनाका रूपमा प्रस्तुत गरेर निकै पो काम हुन लागेछ भन्ने भ्रम छर्न खोजिएको छ।’
कर्णप्रिय नाराको आवरणमा बजेटमा प्रस्तुत दीर्घकालीन आयोजनाहरूबारे सुन्दा भर्खरै निर्वाचन जितेर आएको सरकारले आफ्ना नीति, कार्यक्रम र योजना प्र्रस्तुत गरेझैँ प्रतित हुने कांग्रेसले जनाएको छ।
‘संसद्लाई छलेर राजस्व र व्ययको विनियोजन गर्ने र राष्ट्रिय ऋण उठाउन प्रस्तुत गरिएको यो बजेट, सरकारको ढुकुटी खर्च गर्ने, जनतालाई कर र ऋणको भार थप्ने कुनै पनि कार्य जनताका प्रतिनिधिको स्वीकृति बेगर गर्न पाइँदैन भन्ने स्थापित लोकतान्त्रिक मूल्य र मान्यताविपरीत छ,’ कांग्रेसको भनाइ छ।
बजेटमा राखिएको आर्थिक वृद्धिलगायतको लक्ष्य हासिल गर्न नसक्ने कांग्रेसले दाबी गरेको छ।
यस्तो छ बजेटबारे कांग्रेसको धारणा [पूर्णपाठ]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।