काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज ४ बजे सिंहदरबारबाट बजेट भाषण गर्दै छन्। संवैधानिक व्यवस्था अनुसार संसदमा पेस हुनु पर्ने बजेट अध्यादेश जारी गर्दै अर्थमन्त्री पौडेलले एक कार्यक्रमबीच पढ्न लागेका हुन्।
बजेट निर्माणको काम सकिसकेको छ। शनिबार बस्ने मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेशबाट जारी गर्न राष्ट्रपतिसमक्ष पेस गर्नेछ। मन्त्रिपरिषद्बाट स्वीकृतसँगै सिफारिस भएको बजेट राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश मार्फत जारी गर्ने छिन्।
राष्ट्रपतिबाट जारी भएको बजेट अध्यादेश राजपत्रमा प्रकाशित नगर्दै अर्थमन्त्री पौडेलले सिंहदरबारबाट वाचन गर्ने छन्।अर्थमन्त्रालय स्रोतका अनुसार चालु आर्थिक वर्षको भन्दा १० प्रतिशतको हाराहारीमा बजेटको आकार बढाइएको छ। चालु आवको बजेट १४ खर्ब ७४ अर्ब विनियोजन भएको थियो। आगामी आवको लागि भने १६ खर्बदेखि सवाँ १६ खर्बसम्मको बजेट आउने निश्चित जस्तै भएको छ।
बजेटको स्रोत व्यवस्थापनमा भने १० खर्ब राजस्व, झन्डै ३ खर्ब बाह्य ऋण, सवाँ २ अर्ब आन्तरिक ऋण र ६० अर्ब अनुदान रहेको छ।
बजेटमा २५ वटा राष्ट्रिय गौरवका आयोजनको कामलाई निरन्तरता दिँदै सम्पन्न गर्नका लागि रकम विनियोजन गरिएको छ। जसमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी आवदेखि सञ्चालनमा ल्याउने गरी बजेट विनियोजन भएको छ।
केही दिन अगाडिमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका १ सय ६५ वटा रणनीतिक सडक र केही समय अगाडि शिलान्यास भएका स्वास्थ्य संस्था निर्माणका लागि आवश्यता अनुसार बजेट विनियोजन भएको छ।
यसैगरी आन्तरिक विमानस्थलको स्तरोन्नती, स्वास्थ्य पूर्वाधार, पर्यटन पूर्वाधार र सडक निर्माणको लागि पनि चालु आवमा विनियोजन भएको बजेट भन्दा बढी विनियोजन भएको छ। यसैगरी रेल र पानी जहाज सञ्चालन गर्न पनि बजेट विनियोजन भएको छ।
कृषि भण्डार निर्माणदेखि कृषि आधुनिकीकरण परियोजना र प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि गत वर्षको भन्दा बढी नै रकम विनियोजन भएको अर्थमन्त्रालय स्रोतको दाबी छ। तराईमा सिँचाईदेखि तटबन्ध निर्माण र चुरे संरक्षणमा पनि रकम विनियोजन भएको छ। डिजिटल नेपालको अवधारण साकार बनाउने कामको लागि पनि रकम विनियोजन भएको छ।
यसैगरी कोरोनाले शिथिल भएको अर्थतन्त्र सुरधारका लागि राहतको प्याकेजहरु पनि राखिएको अर्थमन्त्रालय स्रोतको भनाइ छ। साथै आर्थिक वृद्धिदर भने ८ देखि ९ प्रतिशतसम्मको हासिल गर्ने लक्षयसहित बजेट तयार भएको छ।
यसैगरी स्वास्थ्यकर्मी तथा कोरोना उपचारमा सरिक रहेकाहरुलाई प्रोत्साहन गर्नेदेखि सामाजिक सुरक्षा भत्ता बढाइएको स्रोतको दाबी छ। यस्तै सुरुङमार्ग निर्माणदेखि उपत्यकाको सवारीजाम घटाउने फ्लाइओभर निर्माणका लागि बजेट विनियोजन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।