काठमाडौं- देशभर अहिले ४४ वटा संस्थान अस्तित्वमा रहेका छन्। त्यसमध्ये ३८ वटा संस्थान सञ्चालनमा छन्। औद्योगिक क्षेत्रमा १०, व्यापारिक क्षेत्रमा ४, सेवा क्षेत्रमा ११, सामाजिक क्षेत्रमा ५, जीवनोपयोगी ५ र वित्तियमा ९ वटा छन्।
त्यसमध्ये २४ वटा नाफामा सञ्चालन भएका छन् भने १८ वटा घाटामा छन्। यसैगरी २ वटाको भने कारोबार शून्य रहेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानहरुको वित्तिय विवरणमा आर्थिक वर्ष २०७६/७७ मा संस्थानहरुको खुद नाफा १ दशमलव २१ प्रतिशतले घटेर ४८ अर्ब २९ करोड ८२ लाख पुगेको छ।
यसैगरी, संस्थानहरुको सञ्चालन आय पनि ९ दशमलव ०३ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७५/७६ मा कुल संस्थानहरुको सञ्चालन आय ४ खर्ब ७१ अर्ब २४ करोड ४६ लाख रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा घटेर ४ खर्ब २८ अर्ब ७१ करोड ३४ लाख मात्रै भएको छ।
लाभांश रकम भने बढको छ। ४८ दशमलव ८७ प्रतिशतले बढेको लाभांश १४ अर्ब ९ करोड ९५ लाख रुपैयाँ प्राप्त भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको पहेँलो किताब (संस्थानहरुको वित्तिय विवरण समावेश भएको) मा उल्लेख छ।
सञ्चित नाफा १८.१९ प्रतिशतले बढेर १ खर्ब ९ अर्ब ७४ करोड ८० लाख पुगेको छ भने सञ्चित नोक्सान ०.९३ प्रतिशतले घटेर ३४ अर्ब २३ करोड ६१ लाख कायम भएको छ।
आर्थिक वर्ष २०७६/७७ मा नाफामा सञ्चालित २४ संस्थानको खुद नाफा ४.२८ प्रतिशत र नोक्सानमा रहेका १८ संस्थानको खुद नोक्सानी ९९.४६ प्रतिशतले बढेको छ।
यी हुन् घाटामा सञ्चालन भएका संस्थानहरु
आर्थिक वर्ष २०७६/७७ मा १८ संस्थान नोक्सानीमा सञ्चालन भएका छन्। जसमा औधोगिक क्षेत्रतर्फको दुग्ध विकास संस्थानको नोक्सानी १५ करोड ८१ लाख रुपैयाँ रहेको छ। हेटौँडा सिमेन्ट उद्योगको घाटा १७ करोड ६४ लाख रुपैयाँ रहेको छ।
जनकपुर चुरोटको १९ लाख, नेपाल औषधि लिमिडेटको ७ करोड ६५ लाख, उदयपुर सिमेन्टको ३३ करोड ३६ लाख, नेपाल ओरियण्ट म्याग्नासाइटको घाटा १४ करोड ८८ लाख, बुटवल धागो उद्योगको ३ करोड ४४ लाख र नेपाल मेटल कम्पनीको घाटा ७० लाख रुपैयाँ रहेको छ।
औद्योगिक क्षेत्रका १० संस्थानमध्ये ८ वटा घाटामा रहेका छन्। ८ वटाको घाटा मात्रै ९१ करोड ४७ लाख रुपैयाँ रहेको छ।
औद्योगिक क्षेत्रतर्फका धौवादी फलाम कम्पनीको नाफा ७० लाख र जडिबुटी उत्पादन तथा प्रशाोधन कम्पनीको नाफा २९ करोड ६७ लाख रुपैयाँ रहेको छ।
व्यापारिक क्षेत्रतर्फ ४ वटा संस्थान रहेका छन्। त्यसमा एउटा मात्रै घाटामा रहेको छ। घाटामा रहेको नेपाल वन निगम हो। वन निगमको घाटा ९ करोड ७७ लाख रुपैयाँ रहेका छ। कृषि सामग्री कम्पनी १० करोड ५१ लाख, खाद्य व्यवस्था तथा व्यापार कम्पनी ७ करोड ८ लाख र नेपाल आयल निगमको नाफा भने १२ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ रहेको छ।
व्यापारिक क्षेत्रतर्फको ४ वटा संस्थानको समग्रमा नाफा भने १२ अर्ब ९९ करोड ३१ लाख रुपैयाँ रहेको छ।
यसैगरी, सेवा क्षेत्रतर्फ ११ वटा संस्थानहरु रहेका छन्। जसमा औद्योगिक क्षेत्र व्यवस्थापनको नाफा ११ करोड २१ लाख, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिडेटको २ करोड ७१ लाख, नेपाल नागरिक उड्डयन प्राधिकरणको २ अर्ब ५२ करोड ५८ लाख, साझा यातायात सहकारी संस्थाको २४ करोड ६६ लाख र विशाल बजार कम्पनीको नाफा १३ करोड १४ लाख रहेको छ।
तर, नेपाल रेल्वे कम्पनीको ७३ लाख, नेपाल पूर्वाधार निर्माण कम्पनीको ९ लाख, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास लिमिडेटको १ करोड ३७ लाख र नेपाल वायुसेवा निगमको ३ अर्ब ८९ करोड ८३ लाख रुपैयाँ घाटा रहेको छ।
समग्रमा सेवा क्षेत्रतर्फको संस्थानको घाटा ८७ करोड ७२ लाख रुपैयाँ रहेको छ।
यसैगरी, सामाजिक क्षेत्रतर्फ ५ वटा संस्थान रहेका छन्। जसमा नेपाल टेलिभिजनको घाटा २० करोड ६३ लाख, जनक शिक्षा सामग्री केन्द्रको ६ करोड १० लाख, सांस्कृतिक संस्थानको घाटा २ करोड ९० लाख र राष्ट्रिय आवास कम्पनीको घाटा २ करोड ५ लाख रुपैयाँ रहेको छ।
सामाजिक क्षेत्रको संस्थानतर्फ नाफामा रहेको गोरखापत्र संस्थान मात्रै हो। गोरखापत्र संस्थानले आर्थिक वर्ष २०७६/७७ मा २ करोड २ लाख नाफा गरेको थियो। समग्रमा सामाजिक क्षेत्रतर्फको संस्थानहरुको घाटा ३० करोड २६ लाख रुपैयाँ रहेको छ।
जीवनोपयोगी क्षेत्रतर्फका खानेपानी संस्थानको घाटा ३५ करोड ६९ लाख रुपैयाँ रहेको छ। अन्य भने नाफामा छन्। विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३ करोड ८५ लाख रुपैयाँ, नेपाल दूरसञ्चार कम्पनी ९ अर्ब ७४ करोड ९० लाख, विद्युत उत्पादन कम्पनीको ४ करोड ६३ लाख र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको नाफा १५ करोड ४० लाख रुपैयाँ रहेको छ।
वित्तीय क्षेत्रतर्फ ९ वटा संस्थान रहेका छन्। जसमा ९ वटै नाफामा रहेका छन्। कृषि विकास बैंकको नाफा ३ अर्ब ३३ करोड १८ लाख, राष्ट्रिय बीमा संस्थानको ५ करोड ९१ लाख, राष्ट्रिय बीमा कम्पनीको ६३ करोड ८६ लाख, राष्ट्रिय वाणिज्य बैंकको ४ अर्ब ३७ करोड ७३ लाख र निक्षेप तथा कर्जा सुरक्षण कोषको १ अर्ब ८७ करोड ११ लाख रुपैयाँ नाफा रहेको छ।
यसैगरी, नेपाल स्टक एक्सचेन्जको ३३ करोड ६९ लाख, नागरिक लगानी कोषको २ अर्ब ७९ करोड २९ लाख, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको १ अर्ब २ करोड ८१ लाख र नेपाल बैंकको २ अर्ब ३३ करोड २९ लाख रुपैयाँ नाफा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।