काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै बजेट घाटामा सुधार आएको बताएका छन्।
चालु आर्थिक वर्षको फागुनसम्म संघीय सरकारको बजेट घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५ दशमलव ५ प्रतिशतले सुधार भई २९ अर्ब १६ करोड रहेको बताएका छन्।
आर्थिक वर्ष २०७६/७७ मा संघीय सरकारको बजेट घाटा कूल गार्हस्थ्य उत्पादनको ८.१ प्रतिशत रहेको थियो। यस अवधिमा सरकारबाट वित्तिय व्यवस्थापनका लागि चालिएका कदमहरुबाट वित्तिय अनुशासनको अवस्था सुदृढ हुँदै गएको उनको तर्क छ।
त्यसैगरी, राजस्व परिचालन क्षमता सुदृढ भई चालु आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६ प्रतिशतले बढेर रु।५ खर्ब १ अर्ब ९७ करोड पुगेको उनको भनाइ छ।
यस अवधिमा सार्वजनिक ऋण र आन्तरिक ऋण परिचालन तथा उपयोग क्षमता अभिवृद्धि भएको उनको भनाइ छ। चालु आर्थिक वर्षको फागुनसम्म १ खर्ब १२ अर्ब ५२ करोड बराबरको आन्तरिक ऋण परिचालन भएको र चालु आर्थिक वर्षको फागुनसम्म ७ अर्ब ४८ करोड अनुदान ८५ अर्ब २ करोड ऋण गरी जम्मा ९२ अर्ब ५० करोड अन्तर्राष्ट्रिय विकास सहायता परिचालन भएको उनको भनाइ छ।
यस अवधिमा ऋणतर्फ ५० अर्ब ३८ करोड र अनुदानतर्फ ९ अर्ब ७१ करोड गरी जम्मा ६० अर्ब ९ करोड अन्तर्राष्ट्रिय विकास सहायता उपयोग भएको मन्त्री पौडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।