काठमाडाैं- सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरको लक्ष्य संशोधन गर्दै चार प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
सरकारले चालु आवको बजेटमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो। तर, केन्द्रीय तथ्यांक विभागले ४.०१ प्रतिशतले वृद्धि हुने संशोधित अनुमान गरेको थियो।
'२०७७/७८ को सुरुदेखि पहिलो चौमासिकसम्म कोभिड संक्रमण दर बढ्दै गएकोमा मंसिरदेखि चैतसम्म क्रमशः नियन्त्रणतर्फ गएको थियो। यद्यपि, पछिल्लो समयमा भारतमा तीव्ररुपमा बढेको कोरोना संक्रमणको प्रत्यक्ष प्रभाव परी नेपालमा पनि २०७८ वैशाखदेखि कोभिड संक्रमण दर तीव्र गतिले बढ्दै गएको छ। कोभिड रोकथाम तथा नियन्त्रणका लागि फेरि मुलुकका विभिन्न भागमा आंशिक रूपमा निषेधाज्ञा जारी गरिएको छ। स्वास्थ्य सङ्कटको यस्तो भयावह अवस्थामा क्रमशः सुधार आउने अपेक्षासहित नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ४.० प्रतिशत रहने प्रारम्भिक अनुमान छ,' शुक्रबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
स्वास्थ्य संकटको अवस्था लामो समयसम्म रहिरहेमा लक्षित आर्थिक वृद्धि हासिल गर्न चुनौतीपूर्ण हुने अर्थ मन्त्रालयको भनाइ छ। यद्यपि, कोभिड महामारीको समयमासमेत चालु आर्थिक वर्षमा अधिकांश प्रमुख आर्थिक परिसूचकहरू सकारात्मक रहेको मन्त्रालयले दाबी गरेको छ।
'तुलनात्मक रूपमा यातायात, पर्यटन, होटल तथा रेस्टुरेण्ट, थोक तथा खुद्रा व्यापारलगायत सेवा क्षेत्रमा कोभिड-१९ को बढी असर परेको छ। यसबाट गरिबी र वेरोजगारीमासमेत चाप परेको अनुमान छ,' सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ।
सबै प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशतभन्दा उच्च रहने
मन्त्रालयले चालु आवमा सबै प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशतभन्दा उच्च रहने अनुमान गरेको छ। कोभिड-१९ महामारीका कारण आर्थिक वर्ष २०७६/७७ मा कर्णाली र सुदूपश्चिम प्रदेशबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर ऋणात्मक रहेकोमा चालु आर्थिक वर्ष २०७७/७८ मा सबै प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशतभन्दा उच्च रहने अनुमान गरिएको हो।
'यस अवधिमा तुलनात्मकरुपमा आर्थिक वृद्धिदर सबैभन्दा बढी बागमती प्रदेशको ४.६५ प्रतिशत र सबैभन्दा कम प्रदेश २ को ३.५२ प्रतिशत रहने अनुमान छ। यद्यपि पछिल्लो समयमा कोभिड-१९ को दोस्रो लहर तीव्ररुपमा फैलिइरहेको हुँदा चालु आर्थिक वर्षका लागि अनुमानित प्रदेशगत आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको छ,' प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।