काठमाडौं- नेपाली कांग्रेसका नेताहरुले सरकारको सय दिने कार्यकाल ‘नहुने विरुवा’ जस्तै भएको बताएका छन्।
कांग्रेस निकट प्रेस युनियनको २७औं वार्षिकोत्सवमा बोल्दै नेताहरुले सरकारको प्रारम्भिक संकेत अधिनायकवादी शैली उन्मुख रहेको बताएका हुन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले कांग्रेसको मुख्य दायित्व पार्टीलाई एक ढिक्का पार्नु रहेको बताए। देउवाले दुई दलको गठबन्धनका कारण नै निर्वाचनमा पराजित हुनुपरेको टिप्पणी गरे।
कांग्रेसमा महासमिति बैठक लगत्तै शीघ्र महाधिवेशनको माग उठाउँदै आएका देउवा इतरका समूहलाई लक्षित गर्दै भने, ‘महाधिवेशनका लागि तीन वर्ष समय छ, निर्वाचित सभापतिले बीचमै छाड्न मिल्दैन।’
वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको सय दिनको कार्यकाल हेर्दा ‘नहुने विरुवा’ जस्तै देखिएको टिप्पणी गरे । उनले सरकार संघीयताको मर्म विपरीत चलेको आरोप समेत लगाए।
'स्थानीय तथा प्रदेश सरकारलाई केन्द्र सरकारमा पूर्ण निर्भर हुनेगरी बजेट विनियोजन गरिनु संघीयता विरोधी कार्य हो', उनले भने।
यस्तै, पार्टीका उपसभापति विमलेन्द्र निधिले कुनै समय भारततिर र कुनै समय चीनतिर ढल्केर वाम सरकारले लम्पसारवादी प्रवृत्ति देखाएको आरोप लगाए।
कार्यक्रममा महामन्त्री डा शशांक कोइरालाले कम्युनिस्ट दलहरु एकीकरण हुनसक्ने तर कांग्रेसमा एउटै पार्टी पनि एकीकृत हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे।
वक्ताहरुले प्रेस मर्यादित बनाउने क्षेत्राधिकार सञ्चारमाध्यकै भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।