सुर्खेत– कर्णाली प्रदेश सरकारले आज संसदमा प्रि–बजेट पेश गर्दैछ। सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेटका सिद्धान्त, नीति, उद्देश्य र प्राथमिकता आज संसदमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ। शुक्रबारदेखि सुरु भएको संसदको दोस्रो (बजेट) अधिवेशन अन्तर्गत आज दिउँसो ३ बजे दोस्रो बैठक बस्न लागेको हो।
मन्त्री ज्वालाले संसदमा प्रि–बजेट पेश गरेपछि त्यसमाथि छलफल हुनेछ। बजेट सार्वजनिक गर्नुभन्दा १५ दिन पहिले नै संसदमा बजेटको उद्देश्य, निती तथा सिद्धान्तबारे जानकारी गराउनुपर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्था अनुसार संसदमा आज प्रि–बजेटमाथि छलफल गर्न लागिएको हो।
आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट निर्माणका लागि सरकारले गृहकार्य थालिसकेको छ। आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले आगामी वर्षको लागि प्रदेश सरकारले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटन र जनशक्ति उत्पादनलाई प्राथमिकता दिएर बजेट बनाउन लागेको बताए। उनले कर्णाली प्रदेशलाई समृद्ध बनाउन र यहाँका नागरिकको जीवनस्तरमा सुधार ल्याउने कार्यक्रमसहितको बजेटको तयारीका लागि सरकार लागिरहेको बताए। साथै ज्वालाले कार्यान्वयनमुखी बजेट मात्र बनाइने स्पष्ट पारे।
आवश्यक संयन्त्र नहुँदा चालु आर्थिक वर्षको बजेट सतप्रतिशत कार्यान्वयनमा चुनौती देखिएको भन्दै ज्वालाले आगामी बजेट भने सबैको सुझाव लिएर प्रदेशको आवश्यकता सम्बोधन गर्नेगरि तयार पारिने बताए। प्रदेश सांसद, विपक्षी दल, विषयगत मन्त्रालयबाट बजेटको प्राथमिकताबारे आर्थिक मामिला मन्त्रालयले सुझाव मागेको छ।
संसदमा प्रि–बजेट छलफल गर्नुभन्दा पहिले नै सबैको सुझाव संकलन गरी पूर्वतयारी गर्न सरकार जुटेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्डिराज निरौलाले बताए। सरकारले सरकारी तथा निजी क्षेत्रलाई समेटेर उपयोगी बजेट निर्माण गर्ने उनले जनाए। निरौलाका अनुसार निर्वाचन क्षेत्र र स्थानीय सरकारलाई पनि सम्बोधन हुने गरि बजेट ल्याउने सरकारको तयारी छ।
मन्त्रालयले बजेटका प्राथमिकताबारे पटक–पटक विभिन्न निकायसँग छलफल गर्दै आएको निरौलाले जानकारी दिए। बजेट कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणसँगै प्रभावकारी तरिकाले सरकारले दोस्रो बजेट सार्वजनिक गर्ने तयारी थालेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।