काठमाडौं- सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै अहिले अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा जारी भएसँगै यातायातका सबै साधान बन्द छन्। हवाई तथा स्थल सवारी यातायात सबै बन्द छन्। निषेधाज्ञाका शुरुआति दिनमा सरकारले आन्तरिक हवाई उडान भने बन्द गराएको थिएन।
तर, उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी भएको एक साता अर्थात् वैशाख २१ गतेबाट आन्तरिक उडान बन्द गरेको थियो। आन्तरिक उडानको बन्द भएपनि कार्गो तथा उद्धार उडान भने भइरहेका छन्। उद्धार उडानमा ९९ प्रतिशत उडान हेलिकप्टरको उडान भइरहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार ४ मे देखि २४ मेसम्म २१ दिनमा ९ सय १८ वटा उद्धार उडान तथा अवतरण भएको छ। जसमा २ हजार ६ सय १२ जनाको उद्धार भएको छ। यो उद्धारमा पनि कोभिडबा बिरामीको उद्धार संख्या बढी रहेको विमानस्थल कार्यालयको भनाइ छ।
कोभिडका बिरामी पनि उपत्यका आउने भन्दा उपत्यकाबाट बाहिर जानेको संख्या बढी छ। यसैगरी, आन्तरिक उडानतर्फ ८२ हजार केजी सामान पनि ओसार-पोसार भएको छ।
अन्तर्राष्ट्रियतर्फ १४३ उडान तथा अवतरण
अन्तर्राष्ट्रिय उडानमा पनि कार्गाे तथा उद्धार उडान भने भइरहेका छ। ७ मेबाट २४ मेसम्म १ सय ४३ वटा यात्रु उद्धार, सामान चार्टर्ड तथा कार्गाे उडान भएको छ। यसरी भएको उडानबाट ४ हजार १ सय ७३ जनाले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन् भने ९ लाख ३० हजार ८ सय १९ केजी सामान ओसारपोसार भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।