काठमाडाैं- सरकारद्वारा जारी गरिएको नागरिकता सम्बन्धी अध्यादेशलाई जनता समाजवादी पार्टी नेपाल (जसपा)ले स्वागत गरेको छ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन्।
साे लगत्तै पार्टीका अध्यक्ष महन्थ ठाकुरले आइतबार साँझ विज्ञप्ति जारी गर्दै जसपाको निरन्तर संघर्ष र प्रयासपछि नागरिकता प्राप्त गर्ने अवसर प्राप्त भएको बताएका छन्।
‘लाखौ-लाखको संख्यामा रहेका नेपाली नागरिक आमाका सन्तान र जन्मसिद्ध नेपाली नागरिकका सन्तान जसलाई अध्यावधि नेपाली नागरिकताबाट बन्चित राखिएको थियो। वर्षोंकाे प्रतिक्षापछि जसपाको निरन्तर संघर्ष र प्रयासपछि नागरिकता प्राप्त गर्ने अवसर प्राप्त भएको व्यहोरा सम्बन्धित सबैमा सहर्ष जानकारी गराउदछौं,’ विज्ञप्तिमा भनिएकाे छ।
राष्ट्रपति भण्डारीद्वारा जारी नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ अनुसार अब जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका छोरा–छोरीले वंशजको आधारमा नेपाली नागरिकता पाउने भएका छन्।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न ल्याइएको अध्यादेशले ऐनको दफा ३ मा ३ वटा उपदफा थपेको छ। थपिएको उपदफामध्येको उपदफा (४) मा सम्वत् २०७२ साल असोज ३ गतेभन्दा अगाडि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिको सन्तानले बाबु र आम दुवै नेपालको नागरिक रहेछन् भने १६ वर्ष उमेर पूरा भएपछि वंशजको आधारमा नागरिकता पाउने व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।