काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जान जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले गृहकार्य थालेको छ। पछिल्लो समय प्रधानमन्त्री ओलीलाई निरन्तर समर्थन गर्दै आएको महन्थ-राजेन्द्र पक्ष महत्वपूर्ण मन्त्रालयसहित सरकारमा जाने गृहकार्यमा जुटेको हो।
सरकारले जसपाका अधिकांश माग सम्बोधन गरेको, कतिपय माग सम्बोधनको प्रक्रियामै भएकाले सबै माग पूरा हुने सुनिश्चित हुनेबित्तिकै सरकारमा जाने जसपाका एक प्रभावशाली सांसदले बताए।
‘हामीले मधेश आन्दोलनका मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक, रेशम चौधरीको रिहाइ र नागरिकता विधेयक तथा संविधान संशोधनको माग राखेका थियौं। जसमध्ये अधिकांश मुद्दा फिर्ता भइसकेका छन्। कतिपय प्रक्रियामै छन्’, ती सांसदले भने, ‘रेशम चौधरीको रिहाइ प्रक्रियामै छ। नागरिकता अध्यादेश राष्ट्रपतिबाट जारी भइसकेको छ। संविधान संशोधन गर्न कार्यदल बनेको छ। सबै मागले मूर्त रुप लिएपछि सरकार जाने विषयमा पार्टीले निर्णय गर्छ।’
जसपासँगको सहमतिपछि सरकारले संविधान संशाेधन कार्यदल समेत बनाइसकेको छ। कार्यदलमा सरकारी पक्षबाट विष्णु रिमाल, अग्निप्रसाद खरेल र कृष्णभक्त पोखरेल छन् भने जसपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन्। कार्यदलले सकारात्मक निर्णय गरे सरकारमा जान जसपालाई सहज हुनेछ।
सरकारमा जाने विषयमा पार्टीमा एकमत भएकाले सबै माग सम्बोधन हुने अवस्थामा पुगेपछि टुंगो लाग्ने जसपाका एक सांसदले दाबी गरे। सरकारमा जाने अवस्था आएमा राजेन्द्र महतोको नेतृत्वमा जाने नेताहरुले बताएका छन्।
ओलीले जसपालाई प्रभावशाली मन्त्रालयसहित पाँच मन्त्रालय दिने आश्वासन दिएको जसपाका ती सांसदले बताए।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले जसपा मात्रै नभएर सबै पार्टीहरुलाई समेटेर राष्ट्रिय सहमतिको सरकार बनाउने पहिलो प्राथमिकता हुने बताए। ‘प्रधानमन्त्रीज्यूले सकेसम्म सबै दलहरुलाई समेटेर राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयास गर्नु हुनेछ। यदि त्यसो हुन नसकेमा जसपाका माग सम्बोधन हुने बित्तिकै सरकारमा आउने सम्भावना छ’, भट्टराईले भने।
ओलीले जसपालाई सरकारमा ल्याउन लामो समयदेखि प्रयास गरिरहेका छन्। खासगरी उनले महन्थ ठाकुर र राजेन्द्र महतो पक्षसँग संवादलाई निरन्तरता दिँदै आएका छन्।
जसपाले आफ्ना माग र मुद्दा सम्बोधन नभएमा सरकारमा सहभागी हुन गाह्रो हुने बताउँदै आएको थियो। सरकारले जसपाका प्राय:जसो माग सम्बोधन गरेमा महन्थ–राजेन्द्र पक्ष सरकारमा जान जान तम्तयार रहेको नेताहरू नै स्वीकार्छन्।
उता जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादवपक्ष ओली सरकारको विरुद्धमा उभिँदै संयुक्त सरकार बनाउन निरन्तर लागिरहेको थियो। ओलीले शुक्रबार राति प्रतिनिधि सभा विघटन गरेपछि बाबुराम–उपेन्द्र पक्षको सबै प्रयास निरर्थक भए।
बाबुराम–उपेन्द्र पक्षले पार्टी नीतिविपरीत ओली सरकारलाई समर्थन गरेको भन्दै शनिबार महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई ७२ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। पार्टी विधि, विधान विपरीत काम गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको हो। चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने बाबुराम-उपेन्द्र पक्षको तयारी छ।
यता, आइतबार जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै शनिबार बसेको भनिएको कार्यकारिणी समिति बैठकका सबै निर्णय अमान्य हुने बताएका छन्।
ठाकुरले कोरोना महामारीका कारण जेठ ८ र ९ गते बोलाइएको कार्यकारिणी समितिको बैठक स्थगित भइसकेको अवस्थामा गोप्यरुपमा कार्यकारिणी समिति बैठक बसेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। कार्यकारिणी समितिको त्यस्तो बैठकबाट भएका निर्णय अमान्य हुने व्यहोरा निर्वाचन आयोगलाई जानकारी गराइएको ठाकुरले बताएका छन्।
भट्टराई-यादव पक्षले दलको प्रमुख सचेतकमा महतो नियुक्त भएको विषयमा समेत खण्डन गर्दै दलको नेता उपेन्द्र यादव नै भएको निर्णय गरेको थियो।
जसपाभित्रका यी गतिविधिले पार्टी फुटको संघारमा पुगेको विश्लेषण भइरहेका छन्। अब महन्थ-राजेन्द्र पक्ष सरकारमा गए जसपा विभाजन हुने नेताहरू बताउँछन्।
अघिल्लो वर्ष मधेशवादी दलमा प्रधानमन्त्री ओलीले फुट ल्याउन खोजेको भन्दै तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)को हतार हतारको एकतापछि बनेको जसपा एकता नसकिँदै उनै ओलीलाई समर्थन गर्ने/नगर्ने विषयमा मतान्तर भएर विभाजनको अन्तिम संघारमा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।