काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले एयरलाइन्समा नेपालमै उत्पादित दुग्ध पदार्थ प्रयोग गराउन निर्देशन दिएकी छिन्।
शनिवार राष्ट्रिय दुग्ध संस्थानको बैठकमा मन्त्री अर्यालले एयरलाइन्सहरूमा नेपालमै उत्पादित बटर, दही, चीज, छुर्पीलगायत दुग्ध पदार्थ प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकी हुन्।
आफूले नेपाल वायुसेवा निगमसँग छलफल गर्दा दुग्ध पदार्थ बाह्य मुलुकबाट आयात गर्दा ठूलो रकम विदेशिने गरेको जानकारी पाएको भन्दै कार्यक्रममा मन्त्री अर्यालले स्वदेशी उत्पादन प्रवद्र्धनका लागि उक्त व्यवस्था मिलाउन संस्थानका अध्यक्ष बाबुराम पाण्डेलाई निर्देशन दिएकी हुन्।
‘नेपाल वायुसेवा निगमको प्रमुखसँग छलफल गर्दा बटर, दही लगायत वस्तु बाह्य मुलुकबाट ल्याउँदा ठूलो रकम बाहिर गएको पाइयो,’ उनले भनिन्, ‘यसलाई रोक्न मुलुकमै उत्पादित दुग्ध पदार्थको प्रयोगमा जोड दिनुपर्नेछ ।’ एयरलाइन्सलाई दुग्ध पदार्थको विक्री वितरणको तयारी एक हप्ताभित्र गर्न संस्थानललाई उनले निर्देशन दिइन् ।
खासगरी घिउ, नौनी, चीजलगायत उत्पादनको बजारीकरण गर्नुपर्ने भन्दै मन्त्री अर्यालले निर्यात प्रवद्र्धन गर्ने खालका सैद्धान्तिक नीतिगत व्यवस्था गर्नुपर्ने भए त्यसका लागि मन्त्रालय तयार भएको सो अवसरमा बताइन्।
अर्थमन्त्रीसँग सफ्ट लोनको विषयमा कुराकानी भइरहेको भन्दै उनले दुग्ध किसानको बक्यौता चुक्ताका लागि हालसम्म स्टकमा रहेको सामाग्री सरकारले खरिद गर्ने विषय उठेकोले त्यसको आवश्यक सहजीकरणका विषयमा छलफल गरिने बताइन्।
तत्काल किसानको भुक्तानी गर्ने, ज्वलन्त समस्या कसरी समाधान गर्ने भन्ने विषयमा विकल्पसहित छलफल गरी निश्कर्ष निकाल्न समेत उनले संस्थानलाई निर्देशन दिइन्।
यसअघि नेपाल वायुसेवा निगमले करोडौं रुपैयाँको विदेशी दुग्धजन्य पदार्थ खरिद गरेको देखेपछि महाप्रबन्धक डिमप्रकाश पाैलेले कृषिमन्त्री पद्मा अर्याल र दुग्ध बिकाश संस्थानका पदाधिकारीलाई नेपाली बस्तु नै खरिद गर्ने व्यवस्था गरिदिन अनुरोध गरेको थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।