काठमाडौं- जनता समाजवादी पार्टीका नेता अनिल झाले आफ्नो पार्टीले कांग्रेस र माओवादी केन्द्रसँग पनि सहकार्य गर्न सक्ने बताएका छन्। शुक्रबार नेपाल लाइभसँग कुरा गर्दै उनले जसले आफ्नो पार्टीको मुद्दालाई सम्बोधन गर्छ, उसैसँग सहकार्य हुनसक्ने विगतकै धारणा रहेको बताएका हुन्।
‘कांग्रेस र माओवादीले पनि जसपाको माग सम्बोधन गर्छौं भन्छन् भने हामी उनीहरुसँग पनि सहकार्यका लागि तयार छौं। उनीहरु हामीभन्दा ठूलो पार्टी हो। विगतमा पनि उहाँहरुसँग सहकार्य गरेका छौं। भोलि पनि हुन्छ। तर पहिलो कुरा अजेन्डा हो। त्यसलाई जसले सम्बोधन गर्छ, त्यसैलाई सहयोग गर्ने हो’, उनले भने।
उनले जसपाको लागि सरकार प्राथमिक कुरा नभएको बताए। ‘जसपाको कुरा त विगतको मधेस आन्दोलनका बेलादेखि थाति रहेका माग, मुद्दा र पीडालाई जसले सम्बोधन गर्छ। उसैलाई जसपाले सहयोग गर्नुपर्छ भन्ने हाम्रो लाइन हो’, उनले भने।
आफूहरु ओलीतिर नगएको उनले प्रस्ट पारे। तर, उनी प्रधानमन्त्री भएको र काम गर्ने ठाउँमा भएकाले समय सन्दर्भको लाभ उनलाई मिलेको झाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।