काठमाडौं – विद्रोही पक्षको दबाबकै बीच नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारी सुरु गर्ने निर्णय गरेको छ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबारदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५औँ महाधिवेशनको आन्तरिक तयारीलाई तीव्रता दिने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए। यस्तै बैठकले जनजीविकाका समसामयिक समस्याहरूबारे सरकारको ध्यानाकर्षण गराउने निर्णयहरू गरेको पार्टी प्रवक्ता चालिसेले बताए।
संस्थापनलाई दबाब दिन यही साउन २९ गते राजधानीमा विद्रोही पक्षले राष्ट्रिय भेला गर्दैछ। आजकै बैठकमा कर्णाली र सुदूरपश्चिमका केही जिल्लाका सभापतिहरु उपस्थित भएका थिएनन् ।
पार्टीले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव, विद्युत् महसुलमा लगाइएको भ्याट, किसानका लागि रासायनिक मलको चरम अभाव तथा बढ्दो महँगीप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
ग्यास भण्डारणको उचित व्यवस्थापन नहुनु र सरकारको अदूरदर्शी नीतिका कारण समस्या जटिल बनेको निष्कर्ष निकाल्दै आपूर्ति तत्काल सहज बनाउन सरकारसँग माग गरिएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।