भैरहवा- बाघको छाला कारोबार गर्ने ३ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पर्वतको फलेवास नगरपालिका १ ठानामौलाका २५ वर्षीय आशिष सुनार, कास्की मादी गाउँपालिका ४ स्थायी घर भई हाल पोखरा लेखनाथ महानगरपालिका १३ काहुँखोलाका २५ वर्षीय सुरज भुजेल र नवलपरासी सुस्तापूर्व देवचुली नगरपालिका १३ का २५ वर्षीय बद्री सुनारलाई पक्राउ गरेको हो।
बाघको छाला कारोबार गर्ने यो समूह पश्चिमी क्षेत्रमा ठूलो तस्करी समूहमा आबद्ध रहेको प्रहरी स्रोतले बताएको छ।
बिक्रीवितरण गर्न प्रतिबन्धित बाघको छालाको बुटवलमा कारोबार हुन लागेको विशेष सूचनाको आधारमा अभियुक्तहरुलाई २ वटा बाघको छालासहित बुटवल उपमनपा ८ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी एवं प्रवक्ता डिल्लीनारायण पाण्डेले बताए। बरामद २ वटा छालामध्ये एउटा बाघको बच्चाको सानो छाला रहेको छ।
पक्राउ गरिएका अभियुक्तहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पठाइएको डिएसपी पाण्डेले बताए।
यता जिल्ला वन कार्यालयले प्रहरीले बुझाएको बाघको छाला परीक्षणको लागि काठमाडौं पठाएको र पक्राउ परेका अभियुक्तउपर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत मुद्दा दायर गरी घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।