काठमाडौं– सभामुख कृष्णबहादुर महराले नीति तथा कार्यक्रम सम्बन्धमा संसदमा जारी छलफलको तेस्रो दिन पनि सांसदहरुको उपस्थिति कम देखेपछि समय लिएरै ध्यानाकर्षण गराएका छन्।
सभामुख महाराले सरकारको उपस्थिति पनि सदनमा नभएको भन्दै समयमा बैठक सञ्चालन गर्न समेत समस्या भएको बताए।
सांसदहरुको उपस्थितिका विषयमा सञ्चारमाध्यममा आलोचना भएको भन्दै सभामुख महराले सांसदहरुको ध्यानाकर्षण गराएका थिए। ‘सरकारको उपस्थित पनि सदनमा हुन सकेको छैन।’, सभामुख महाराले भने, ‘समयमा बैठक सुरु गर्नका लागि सदनको कामकारबाही ख्याल गरियोस् भनि ध्यानाकर्षण गराउन चाहान्छु।’
सांसदहरुलाई छलफलमा तोकिएको समय सिमाभित्रै आफ्ना धारणा राख्न समेत सभामुख महाराले आग्रह गरे। संसदमा बोलिएका केही शब्दहरुप्रति पनि ध्यानाकर्षण भएको भन्दै सभामुखले संसदको मर्यादाभित्रै रहेर आफ्नो भनाइ राख्न सांसदहरुलाई आग्रह गरे।
बुधवार अधिकांश सांसदहरुले संसदमा हाजिरी गर्दै बैठकबाट बाहिरिएका थिए। हाजिर गर्ने तर सरकारको नीति तथा कार्यक्रममा भाग नलिने सांसदहरुको गतिविधिको सञ्चारमाध्यममा आलोचना भएपछि सभामुख महराले अन्तिम दिन ध्यानाकर्षण गराएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।