काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई बिहीबार राति नै प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेकी छन्।
ओलीलाई प्रतिनिधि सभाको सबभन्दा ठूलो दलको नेताको हैसियतमा संविधानको धारा ७६ को उपधारा ३ बमोजिम अल्पमतको प्रधानमन्त्री नियुक्त गर्न लागिएको राष्ट्रपति कार्यालय शीतलनिवास स्रोतले बतायो।
ओली अहिले कामचलाउ प्रधानमन्त्री छन्। वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका थिए।
राष्ट्रपति भण्डारीले वैशाख २७ गते राति संविधानको धारा ७६ को उपधारा २ बमोजिम तीन दिनको समय दिएर दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्न आह्वान गरेकी थिइन्। त्यो समय भर्खरै सकिएको छ।
'अब राष्ट्रपतिज्यूले त्यो प्रक्रियाअनुसार कोही पनि व्यक्तिको नाम प्रस्ताव नगरिएको जानकारी गराउनुहुन्छ', शीतलनिवास स्रोतले भन्यो, 'अनि सबभन्दा ठूलो दलको हैसियतमा केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी दिनुहुनेछ।'
ओलीनिकट एमालेका एक नेताले पनि यस्तो तयारी भइरहेको जानकारी पाएको बताए। उनले भने, 'सपथ चाहिँ भोलि मात्र हुन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।