काठमाडौं– निजी हवाई सेवा प्रदायक कम्पनीहरुको छाता संगठन ‘वायु सेवा सञ्चालक संघ’ले कोभिड बिरामीको उद्धार उडानमा अन्य उडानको तुलनामा बढी भाडा लाग्ने बताएका छन्।
पछिल्लो समय हेलिकोप्टर उडानामा मनपरी भाडा असुली भएको भन्दै सञ्चार माध्यमहरुमा समाचार प्रकाशन भएपछि संघले बढी भाडा लिएको विषयमा स्पष्ट पारेको छ।
संघले पर्यटन मन्त्रालयले तोकेको भाडादरमा नै कोभिडको बिरामी उद्धार गरेको समेत दाबी गरेको छ।
मन्त्रालयले बेल २०६ समूहको भाडा प्रतिघण्टा एक हजार ५०० डलर, आर ४४ समूहको हेलिकप्टरको भाडा प्रतिघण्टा एक हजार डलर र एमआई–१७ समूहको हेलिकप्टरको भाडा प्रतिघण्टा छ हजार डलर तय गरेको र सोही अनुसार उद्धार उडान भएरहेको संघले जनाएको छ।
‘कोभिड उद्धार उडानको हकमा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रोटाेकल एवं स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्ड अनुसार उडान भएको छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उडानमा खटिने पाइलट लगायत कर्मचारीहरुका लागि पीपीई सेट, प्यारामेडिकल टोली, सेमी भेन्लिटर मसिन, थप बिमा, प्रत्येक उडान पश्चात हेलिकप्टरको सेनिटाइजेशन, किटाणुशोधन (डिसइन्फेक्सन) लगायत अन्य सामग्री समेत प्रयोग हुनुका साथै मेडिकल टोलीको प्रयोग गनै पर्ने हुँदा अन्य उडानमा भन्दा उडान समय र भाडा बढी लाग्छ।’
संघले कोभिड उद्धार उडानका प्रतिउडानमा एक लाख पचास हजार भन्दा थप बढी खर्च आउने संघको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।