काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसकिने बताएका छन्।
जसपा अध्यक्ष ठाकुर र नेता महतोले आइतबार प्रधानमन्त्री ओलीलाई बालुवाटामार भेटेर आफूहरूले मत दिन नसक्ने जानकारी गराएका हुन्।
प्रधानमन्त्री ओलीसँगको भेटपछि महतोले नेपाल लाइभसँग भने, ‘हामीले सरकारलाई विश्वासको मत दिन नसकिने जानकारी गरायौं।’
आफूले उठाएका कतिपय माग/मुद्दा सम्बोधन भएपनि कति सम्बोधनको प्रक्रियामा रहेकाले विश्वासको मत दिन नसकिने अवगत गराएको उनले बताए।
उनले भने, ‘सबै माग सम्बोधन भइनसकेको अवस्थामा पार्टीलाई जोगाउनुपर्ने भएकाले हामी तपाईंको पक्षमा पनि हुँदैनौं, विपक्षमा पनि जाँदैनौं। तटस्थ रहन्छौं।’
यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर उनीहरूले आफ्ना केही माग सरकारले पूरा गरेको र केही प्रक्रियामा रहेकाले विपक्षमा भोट हाल्न नसकिने अवगत गराएका थिए।
जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले ओलीलाई विश्वास मत दिन नसकिने बताउँदै आएका थिए। ओलीलाई विश्वासको मत दिने/नदिने विषयमा जसपाभित्र मतभेद थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।