संसारमा सब थोक बिक्छ
नबिक्ने एउटै चोट छ
स्वर्गीय अम्बर गुरुङले स्वर दिएको गीतको यो हरफमा उल्लिखित शब्द ‘चोट’ले प्रतीकात्मक अर्थ बोकेको छ। सामान्यतः चोटले मानिसका पीडा, दुःख आदीलाई ईंगित गर्छ। पीडा आफ्नै सपनाको असफलता वा विरोधीको षडयन्त्रसँग जोडिएर आउने कुरा पनि हुन्। यसरी हेर्दा अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पीडाको ठुलो पहाड बोकिबसेका देखिन्छन्।
प्रचण्ड यतिखेर विरामी श्रीमती सीता दाहालको स्वास्थ्य उपचारमा व्यस्त छन्। त्यो सँगसँगै ‘नेकपा सपना’ टुटेपछि पहिरो गइरहेको माओवादी पार्टीलाई जोगाउने चिन्ता पनि छ। यस्ता अनेक पीडालाई विस्थापन गरेर ‘नर्मल’ देखिन खोज्ने उनको प्रयत्न चलिरहेको छ। तर, अम्बर गुरुङको गीत जस्तै उनले त्यो पीडा र चोट बिकाउन सकिरहेका छैनन्।
कम्युनिस्ट राजनीतिबाट आएका सबैजसो नेताहरु कम्युनिस्ट एकताको कुरा गर्छन्। उनीहरुको यस्तो चाहना स्वार्थमा आधारित छ वा सिद्धान्तमा भन्ने उत्तर स्पस्ट छैन। प्रचण्ड पनि तिनैमध्ये हुन् जो लामो समयदेखि कम्युनिस्ट एकताको वकालत गरिरहेका छन्। पछिल्लो समय नेकपा एमालेसँग एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण पनि गरे, उनले। त्यसबाट उनी स्वयंले आफूलाई थप शक्तिशाली भएको ठाने, अरुले पनि त्यस्तै चर्चा गरे। तर, नतिजा सोचेजस्तो भएन। कुनैबेला चलखेलमा माहिर मानिने प्रचण्डलाई तत्कालीन नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले माथ गरिदिए। नेकपामा रहँदा ओलीबाट प्रचण्डले अपमान त सहेकै थिए, सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि प्रचण्ड थप कमजोर हुनपुगे।
प्रचण्डमा यसको छटपटी कतिसम्म छ भन्ने प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउन उनले गरिरहेको दौडधुपबाट पनि प्रस्ट हुन्छ।
‘निरीह’ प्रचण्ड
चोट, दुःख वा पीडा समय आफुअनुकुल नचलिरहेको संकेत पनि हो। तर, प्रचण्ड कुनैबेला प्रतिकुल माहोल बदल्न समेत सिपालु नेताका रुपमा चिनिन्थे। अहिले पनि उनी यसका लागि अनेकन् जुक्ति सोचिरहेका र त्यसअनुसार प्रयत्न गरिरहेका देखिन्छन्। तर, उनका जुक्ति ‘राजनीतिको बजारमा’ चलिरहेका छैनन्।
माओवादी फेरि उठ्न सक्ला र भन्ने प्रश्न पनि छ अहिले। यही संशयले प्रचण्डका युद्धकालीन सारथीले नै उनको साथ छाडेर प्रधानमन्त्री ओलीको छत्रछायाँ रोजेका छन्।
नेकपा एक हुँदा होस् वा विघटनपछि, प्रचण्डको ध्येय ओलीलाई सत्ताच्युत गराउने देखिन्छ। ओली सत्तामा रहँदासम्म प्रचण्डले आफ्नो ‘भलो हुने’ सम्भावना देखेका छैनन्। पछिल्लो समय प्रधानमन्त्री ओलीले विभिन्न नियुक्तिहरुमा गरिरहेको हेरफेर प्रचण्डलक्ष्यित छ जसमा उनले प्रचण्डनिकटले पाएका नियुक्ति उल्ट्याउँदै आफूनिकटलाई धमाधम महत्वपूर्ण पदमा नियुक्ति गरिरहेका छन्।
अर्काेतिर प्रचण्डइतर शक्तिहरुले उनको स्वार्थ, शंका र विश्वासमा तालमेल देखिरहेका छैनन्। स्वार्थअनुसार सम्बन्ध जोड्ने र तोड्ने प्रचण्डको परिचित प्रचण्डको स्वभावमा धेरै समयसम्म नेपाली कांग्रेस नै विश्वस्त हुन सकेन। अझै पनि कांग्रेस प्रचण्डप्रति विश्वस्त भएर अघि बढेको देखिँदैन। माओवादी फेरि उठ्न सक्ला र भन्ने प्रश्न पनि छ अहिले। यही संशयले प्रचण्डका युद्धकालीन सारथीले नै उनको साथ छाडेर प्रधानमन्त्री ओलीको छत्रछायाँ रोजेका छन्। जनता समाजवादी पार्टी (जसपा)को एक समूहले त प्रचण्डको शक्तिमै विशवास गर्न सकिरहेको छैन। अर्थात् यी सबैको समग्र योगफल प्रचण्ड थप कमजोर र निरीह देखिँदै गएका छन्।
के आउला र माओवादीमा बहार!
राजनीति गर्नेका आधार हुन्छन्- मुद्दा र सिद्धान्त। तेश्रो विश्वका राजनीतिक दलसँग विकास, विभेद, सिमान्तकृत, महिला, उत्पीडन आदि मुद्दाको लामै सूची हुन्छ। यद्यपि तेश्रो विश्वको राजनीति सिद्धान्त र मुद्दाको आधारमा मात्र अघि बढ्दैन। सिद्धान्त र मुद्दाको बिचमा नेताको स्वार्थ प्रधान भएर आउँछ। स्वार्थ सिद्धान्त र मुद्दाको आधारमा तय हुँदैन। उल्टै सिद्धान्त र मुद्दा नेताको स्वार्थ सिद्ध गर्ने हतियार बन्छन्। नेताको स्वार्थलाई समकालीन नेता र इतर दलसँगको इगो र आफ्नो करिअरमा प्रभाव पार्ने शक्तिराष्ट्रको चाहनाले प्रभावित पार्छ। प्रचण्डका योजनाहरु यथास्थितिमै अल्झिनुमा अन्य दलको अरुचिले पनि काम गरेकोमा सन्देह छैन। तर, अन्य दलका यस्ता अरुचि र स्वार्थ आफ्नो विवेकबाट मात्र निर्देशित छैनन्। हिजोका दिनमा आफ्नो नेता र दललाई स्थापित गराउन भूमिका खेल्ने बाह्य शक्तिको स्वार्थ पनि त्यसमा जोडिएको छ।
कमजोर र निरीह हुनुको पीडा प्रचण्डले राम्रैसँग बोध गरेका छन्। प्रचण्डको चाहना प्रधानमन्त्री ओलीले सत्ता छोडिदिऊन् भन्ने छ तर, उनलाई ‘जनयुद्धकालीन’ आफ्नै सहयोद्धाले छाडिरहेका छन्। प्रधानमन्त्री ओली एमालेको सातौं महाधिवेशनदेखि नै माओवादीप्रति नकारात्मक र कठोर थिए। खुला राजनीतिमा आएको माओवादीलाई ओली सधैं कटाक्ष गर्थे। त्यसले गर्दा माओवादीको नजरमा पनि ओली सबभन्दा आलोचित पात्र थिए।
समयक्रममा माओवादीकै बलमा ओली शक्तिशाली प्रधानमन्त्री बने। सत्तामा हुनेसँग शक्ति र अनेकौं अवसर दिने हैसियत हुन्छ। माओवादीका राबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र मणि थापाले ओलीको निम्ति पार्टीमात्र छोडेनन्, प्रचण्डको आलोचना गर्ने काम पनि उनीहरुले नै गरिरहेका छन्। यसको सन्देश यही हो कि चराहरुले बासको निम्ति उजाडिएको वा उजाडिँदै गरेको रुखलाई रोज्दैनन्।
पछिल्लो अन्तवार्तामा प्रचण्ड स्वयंले नयाँ सरकार तत्काल बन्ने सम्भावना नरहेको बताए। उनले यो कुरा मन्द मुस्कानसाथ भनेका थिए।
माओवादी पार्टीमा पुनः बहार आउने सम्भावना न्यून देखिन्छ। माओवादीको यस्तो ओरालो यात्रा दोस्रो संविधानसभाको निर्वाचनपछि शुरु भएको हो। त्यो बेला पनि प्रचण्डले माओवादीमा बहार ल्याउने दाबी गरेका थिए। नेकपा विघटनपछि पनि उनले माओवादीको पक्षमा जनलहर ल्याउने सपना सुनाए। त्यसका लागि धेरै समय काठमाडौं बाहिर बिताउने घोषणा गरे। तर, उनको धेरै समय काठमाडौंमै बितिरहेको छ। त्यो पनि ओली सरकारको विस्थापनका लागि कांग्रेस र जसपाका नेताहरुको घरदैलो धाउँदै।
तर, प्रचण्डलाई विश्वास गर्न नसकेकै कारण कांग्रेसले निकै ढिलो आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गर्यो। जसपाभित्रको पूर्वराजपा खेमा ओलीलाई नै काँध थाप्ने पक्षमा छ। यो बेग्लै हो कि जसपाको मुद्धामा ओलीभन्दा प्रचण्ड उदार देखिन्छन्, उदार हुनसक्छन् तर मुद्धा सम्बोधन गर्न सक्ने क्षमता राख्दैनन्। अहिले ४९ सिटमा खुम्चिएको माओवादीले सरकार गठन गर्न सहयोग त गर्ला, तर मधेशको मुद्धा सम्बोधन गर्न सक्ने अवस्थामा छैन। त्यसैले जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले सरकारमा जाँदा मुद्धाभन्दा ब्यक्तिगत लाभ लिने हो भन्ने बुझेको छ। त्यो लाभ उनीहरुलाई प्रचण्डभन्दा ज्यादा ओलीबाटै मिल्न सक्छ। किनभने ओली सरकारमा रहेको र पार्टीको आकार पनि ठुलो रहेकाले प्रचण्डभन्दा धेरै हिसाबले शक्तिशाली छन्।
हिमालय टेलिभिजनसँगको पछिल्लो अन्तवार्तामा प्रचण्ड स्वयंले नयाँ सरकार तत्काल बन्ने सम्भावना नरहेको बताए। उनले यो कुरा मन्द मुस्कानसाथ भनेका थिए। अरुचिकर कुरा पनि मन्द मुस्कानसाथ भन्न सक्नु उनको कला हो। तर, अरुचिकर यथार्थ सामना गर्नु र कमजोर हुनुको पीडाबोध सायद प्रचण्ड स्वयंले मात्र गर्न सक्छन्।
पहिलो संविधानसभाबाट ठुलो दल हुँदा माओवादीमा अन्य दलबाट आउनेको लर्काे थियो। अहिले माओवादी छाड्नेको लर्काे छ। कांग्रेस नेता तथा चिन्तक प्रदिप गिरिले एमाले र माओवादीको एकतालाई प्रचण्डको अन्तिम चमत्कार भनेका थिए। पार्टी विघटनले माओवादीलाई पुरानै स्थानमा फर्कायो। तर, प्रचण्डको चमत्कार गर्ने क्षमतालाई पुनर्स्थापित गर्न सकेन। अब त्यसो हुने सम्भावना पनि निकै कम देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।