काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा बढेर बन्द भएको छ। लगातार दुई दिन भारी अंकले बढेको बजार आज झिनो अंकले बढ्दै बन्द भएको हो।
आज सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दै बन्द भएको हो। योसँगै आज २६५६ अंकमा पुगेको छ।
आज कारोबार रकममा भने गिरावट आएको छ। सोमबार आज ७ अर्बभन्दा बढी कारोबार भएको सेयर बजार आज पाँच अर्ब ८२ करोड मूल्य बराबरको सेयर कारोबार भएको हो।
१२२ कम्पनीको मूल्य बढ्दा १२५ को घट्यो भने १० को स्थिर रह्यो। दिनभर बजार सामान्य उतारचढामा रहे पनि अन्ततः बढेर बन्द भएको छ।
समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ। होटल तथा पर्यटन सबैभन्दा धेरै १.४ प्रतिशत बढ्यो। त्यस्तै बैंकिङ ०.१९, फाइनान्स ०.०२, हाइड्रोपावर ०.१९, लगानी ०.२३, उत्पादन तथा प्रशोधन १.३०, माइक्रोफाइनान्स ०.०४, निर्जीवन बीमा ०.६५ र अन्य ०.४९ प्रतिशत बढे।
व्यापार १.३३, जीवन बीमा ०.३० तथा विकास बैंक ०.२४ प्रतिशत घटे। तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। १० प्रतिशत बढ्नेमा झापा इनर्जी, सागर डिस्टिलरी र श्रीनगर एग्रिटेक कम्पनी छन्।
त्यस्तै स्वस्तिक लघुवित्तको ८.२३, बन्दीपुर केबुलकारको ७.२३, दरामखोला हाइड्रोपावरको ६.८७ तथा हिमस्टार ऊर्जाको ५.३२ प्रतिशत मूल्य बढ्यो।
जोशी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.९६ प्रतिशत घट्यो। सुपरमाइको ३.१९ तथा भूगोल इनर्जीको २.७४ प्रतिशत मूल्य घट्यो।
आज धेरै कारोबार भएका कम्पनीमा बन्दीपुर केबुलकार, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, युनियन हाइड्रोपावर र शिवम् सिमेन्ट छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।