काठमाडौं– कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सोमबार भएको डे–नाइट वेस्टर्न डर्बी म्याचमा सुदुरपश्चिमले कर्णालीलाई ४५ रनले पराजित गरेको हो ।
१४० रनको लक्ष्य पछ्याएको कर्णाली ५ बल बाँकी छँदै ९४ रनमा अलआउट भयो । कर्णालीका लागि पवन र्सारफले सर्वाधिक २७ र मार्क वाटले १७ रन बनाए ।
२९ रनमा ४ विकेट गुमाएको कर्णालीका लागि कप्तान सोमपाल कामी र पवन सर्राफले ३४ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए ।
तर लगातार विकेट जाँदा कर्णाली कमजोर देखियो । कर्णालीलाई अलआउट गर्न सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । हर्मीत सिंहले ४ ओभरमा १ मेडन राख्दै १९ रन मात्र खर्चेर २ विकेट लिए ।
अविनाश बोहराले पनि २ विकेट लिए । स्कट कुगेलेइनले किफायती बलिङ गर्दै ४ ओभरमा ९ रन मात्र दिएर १ विकेट लिए । हेमन्त धामीले १ विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।