काठमाडौं- विश्वभर कोभिड-१९ को दोस्रो लहर फैलिएको छ। नेपालमा पनि कोभिडको संक्रमणमा दैनिक उच्च दरमा बढिरहेको छ।
तर, विश्वको अग्लो शिखर सगरमाथा आरोहणका लागि एकै सिजनमा परमिट (अनुमति) लिनेको संख्या भने अहिलेसम्मकै सबैभन्दा धेरै भएको छ। पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०२१ को वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै संख्यामा परमिट जारी भएको बताए।
तर, समग्र हिमाल आरोहणका लागि जारी भएको परमिट भने अहिलेसम्मको धेरै हैन। यस्तो अवस्थामा जारी भएको परमिटको संख्यालाई हेर्ने हो भने हिमाल आरोहणको संख्यामा सन्तोषजनक रहेको उनको भनाइ छ।
उनका अनुसार सगरमाथा आरोहणका लागि ४३ टिमका ४०८ जनाले परमिट लिएका छन्। जसमा ३१५ जना पुरुष र ९२ जना महिला रहेका छन्।
समग्रमा १६ वटा हिमाल आरोहणका लागि ८५ टिमका ७४२ जनाले परमिट लिएका छन्। त्यसबाट सरकारले ७१ करोड ४८ लाख ५३ हजार ५२९ रुपैयाँ रोयल्टी संकलन गरेको छ।
महानिर्देशक तामाङका अनुसार सगरमाथा आरोहणको संख्या बढी हुनुको एउटै कारण गत वर्ष हिमाल आरोहण रोकिनु र अहिले चीनतर्फबाट आरोहण बन्द हुनु हो।
यसै साता एक टोली चुचुरो पुग्ने
तामाङका अनुसार मौसमले साथ दिएका यसै साता एउटा टोलीले सगरमाथा आरोहण सुरु गर्नेछ। एक टोलीमा १५० जना रहनेछ।
हिमाल आरोहणका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भइसकेको छ। सम्पर्क अधिकृत तथा आरोहण दलका सबै आधार शिविरमा पुगिसकेका छन्।
विभागका अनुसार यही मे ५ र ६ मा सगरमाथा आरोहणका लागि मौसम उचित हुने पूर्वानुमान गरिएको छ।
कुन हिमाल आरोहणका लागि कतिले लिए अनुमति?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।