काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलकाे भीड कम गर्न भन्दै आन्तरिक उडानमा कोटा प्रणाली लागू गरेको छ।
कोरोना भाइरस संक्रमणको बढ्दो विस्तारलाई रोक्न संक्रमणरहित उडान गर्ने उद्देश्यले विमानस्थलले आन्तरिक उडानमा कोटा प्रणाली लागू गरिएको हो। विमानस्थल कार्यालयले आन्तरिक उडान गर्दै आएका वायुसेवा प्रदायक कम्पनीहरूसँगकाे छलफलपछि साेमबारदेखि लागू हुने गरि उडान संख्यामा व्यापक कटाैती गरेकाे छ।
कार्यालय प्रमुख प्रतापबाबु तिवारीका अनुसार आइतबार ७७ वटा उडान भएपनि साेमबारदेखि जम्मा ४१ वटा मात्रै उडान हुनेछ। विमानस्थल कार्यालयले एक घण्टामा ३ वटा उडान गर्नेगरि बजार हिस्साको आधारमा एयरलाइन्स कम्पनीले गर्न पाउने उडान काेटा निर्धारण गरेकाे हो।
जसमा बुद्धले १८, यतीले १०, श्रीले ५, स्टल २ र साना जहाजका लागि ६ वटा उडानकाे काेटा ताेकिएकाे छ। उडानसँगै यात्रु पनि कम भएकाे विमानस्थल कार्यालयकाे भनाइ छ।
अहिले काठमाडौंबाट बाहिर जाँदा ७० प्रतिशतकाे अकुपेन्सी भएपनि काठमाडौं आउने उडानमा ३० प्रतिशत मात्रै यात्रु रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।