काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसक सभापति शेरबहादुर देउवाले ओली सरकारले महत्वपूर्ण समय खेर फाल्ने र हावादारी कुरा गर्ने गरेको आरोप लगाएका छन्।
संसदमा बुधबारदेखि सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै देउवाले सरकारले ल्याएको नीति तथा कार्यक्रम जनताले चाहेको समृद्धि र विकासको लक्ष्य पूरा गर्ने खालका कुनै पनि कार्यक्रम नरहेको जिकिर गरे।
शासन चलाउने कुरालाई हल्का रुपमा नलिनु होला भन्दै देउवाले राष्ट्रवादबारे सीमामा बसेका मानिसलाई नसिकाउन आग्रह गरे। ‘हिमाल, पहाड र मधेसमा बसेका सबै जनता राष्ट्रवादप्रति सचेत छन्,’ देउवाले भने, ‘यहाँ बसेर सीमा मिचिएको बारेमा तपाईंहरुले राष्ट्रवाद सिकाउन जरुरी छैन।’
बिपी कोइरालाले थालेको भूमिसुधार र जनताको विकासलाई सरकारले यथेष्ठ ध्यान दिन नसकेको देउवाले आरोप लगाए। ‘सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनै नयाँपन छैन, समय अनुकूल हुँदाहुँदै पनि सरकारले देशको समृद्धि र विकासको खाका ल्याउन सकेन,’ देउवाले भने, ‘सरकारले राम्रो अवसर गुमाएको छ।’
नीति तथा कार्यक्रमले राजनीतिक आन्दोलनका उपलब्धlलाई नजरअन्दाज गरिएको पनि देउवाले बताए। ‘नीति तथा कार्यक्रममा एक वर्षमा सरकारले केके गर्छ भन्ने कुरा हुनुपर्ने हो तर यसमा सरकारले एक वर्षमा के गर्छ भन्ने पाइएन,’ उनले भने, ‘यो दिशाहीन र अस्पष्ट रहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।