काठमाडाैं- गण्डकी प्रदेश सभामा उपस्थित नभएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अस्पताल भर्ना भएको जानकारी गराइएको छ।
कोरोना संक्रमण भई चरक अस्पतालको आईसीयूमा भर्ना भएको जानकारी पाएको कांग्रेस सांसद विष्णुप्रसाद लामिछानेले बताए। उनले भने, ‘हिजो गरेको स्वाब संकलनको आज आएको रिपोर्टमा उहाँको नेगेटिभ रिपोर्ट आएको छ। सरकारले उहाँलाई अपरहणको शैलीमा राखेको हाम्रो आशंका छ।’
चरक अस्पतालमा एमाले सांसद राजीव पहारीको पनि लगानी छ। पहारीकै लगानी रहेको अस्पतालमा उनी भर्ना भएको भन्नुले थप आशंका जन्माएको लामिछानेले बताए।
मंगलबार स्वाब संकलन गरी बुधबार आएको नतिजामा सांसद शाहीलाई कोरोना संक्रमण देखिएको थिएन। शाहीले जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापालाई पनि कुनै जानकारी नदिएको बताइएको छ।
एकजना मात्रै अनुपस्थित हुँदा विपक्षीलाई बहुमत पुग्दैन। बहुमतका लागि ३१ मत आवश्यक पर्छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन्। जसमा जनमोर्चाका सांसदले हस्ताक्षर नगरेपनि समर्थन रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।