काठमाडौं- भारतमा कोरोनाको दोस्रो लहर फैलिएसँगै भारतीयले नेपाललाई ट्रान्जिट हब बनाउन थालेका छन्। अधिकांश देशहरुले भारतसँगकाे सिधा उडानमा प्रतिबन्ध लगाएपछि उनीहरुले नेपाललाई ट्रान्जिट हब बनाउन थालेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार पछिल्लो २५ दिन मात्रै नेपाललाई ट्रान्जिट बनाएर ७ हजार ५ सय ६ भारतीयले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्।
भारतबाट नेपाल आउने र नेपालबाट साउदी अरेबिया जानेको संख्या सबैभन्दा बढी रहेकाे विमानस्थल कार्यालयले जनाएकाे छ। भारतमा अचाक्ली काेराेना संक्रमित बढेपछि साउदीले सिधा उडान रोकेको छ।
तर, भारतभन्दा बाहिर गएर १४ दिनको क्वारेन्टिन बसेर साउदी जानलाई भने स्वीकृति दिइएकाे छ। जसका कारण भारतीयहरुले अहिले नेपाललाई ट्रान्जिट हब बनाएर साउदी उडान गरिरहेका छन्।
विमानस्थल कार्यालयका अनुसार २५ दिनमा नेपालबाट मात्रै ५ हजार ६ सय ३० भारतीय साउदी पुगेका छन्। साथै, साउदीबाट १ सय ७५ भारतीय नेपाल आएका छन्।
अप्रिल १ देखि २५ कै बीचमा नेपाल हुँदै बहराइन २, कुबेत ३, ओमन २३, कतार ३० र युनाइटेड अरब इमिरेट्स (युएई) ९७ जना पुगको विमानस्थल कार्यालयको भनाइ छ।
यसैगरी, बहराइनबाट ५, कुबेतबाट ३, मलेसियाबाट ६ , ओमनबाट ११, कतारबाट ४०, युएईबाट १ हजार ४ सय ९९ सय र साउदी अरेबियाबाट १ सय ७५ जना भारतीय नेपाल आएका छन्।
अन्य देशबाट आएका नागरिक पनि नेपालाई ट्रान्जिट बनाएर भारत नै फर्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।