काठमाडाैं- समाचार सम्प्रेषण गरेकै आधारमा सञ्चारगृहमा प्रवेश गरी पत्रकारलाई पक्राउ गरिएकोप्रति प्रेस काउन्सिल नेपालले आपत्ति जनाएको छ।
काउन्सिलले आइतबार उज्यालोनेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक दुर्गालाल तामाङलाई कार्यलयमै प्रवेश गरी प्रहरीले पक्राउ गरिएको घट्नाप्रति ध्यानाकर्षण भएको जनाएको हो। आइतबार प्रहरीले कार्यकारी सम्पादकलाई अनामनगरस्थित कार्यालयबाट र महाप्रबन्धक तामाङलाई बसुन्धाराबाट पक्राउ गरेको थियो।
'सञ्चारमाध्यमबाट सम्प्रेषित समाचारका विषयमा चित्त नबुझेको अवस्थामा प्रेस काउन्सिल ऐन, २०४८ को दफा १२ र पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) बमोजिम प्रेस काउन्सिल नेपालले कारबाही गर्ने गर्दछ,' काउन्सिलद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ।
'प्रधानमन्त्री केपी ओली र रअबीच भएको सहमति...' शीर्षकको समाचार सम्बन्धमा काउन्सिलले स्पष्टीकरण सोधिसकेको तथा समाचार प्रकाशन गरेका अनलाइन पोर्टलहरुले क्षमायाचनासहित भूलसुधार गरी काउन्सिलमा स्पष्टीकरण पेस गरिसकेको काउन्सिलले प्रस्ट पारेको छ।
'प्रेस काउन्सिल नेपाल फाैजदारी मुद्दाको अनुसन्धान र तहकिकात गर्ने विषयमाबाहेक समाचार लेखेकै भरमा सञ्चारमाध्यममा आबद्ध पत्रकारलाई पक्राउ गर्ने, धरपकड गर्ने, सञ्चार सामग्रीसमेत जफत गर्ने प्रेस स्वतन्त्रताविरोधी गतिविधि गरिनु, संविधान, कानुनविपरीत हुने हुँदा अदालतको आदेशलाई पालना गर्न र सो विपरीत धरपकड, बलजफ्ती नगर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ,' काउन्सिलले भनेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।