काठमाडौं- नेपाल वायुसेवा निगमले टिकट खरिदमा डिजिटल पेमेन्ट प्रणाली सुरु गरेको छ। निगमले नेपाल बैंक लिमिडेटसँगको सहकार्यमा सोमबारबाट टिकटको डिजिटल भुक्तानी 'क्यूआर स्क्यान' प्रणाली सुरु गरेको हो।
निगमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहबीच निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा सेवाको सुरु गरेका थिए।
निगमका महाप्रबन्धक पौडेलले बदलिँदो परिवेशमा डिजिटल भुक्तानीको महत्त्व झन् बढ्दै गएको जनाउँदै यसका अतिरिक्त निगमले आगामी दिनमा थप अत्याधुनिक सेवाहरु जोड्दै जाने बताएका थिए।
उनले नेपालको पहिलो बैंकसँग पहिलो वायुसेवा कम्पनी भुक्तानी प्रणालीमा जोडिन पाएको बताउँदै यसबाट दुर्गम र गाँउ-गाँउबाट टिकट काट्न र भुक्तानी गर्न सहज हुने बताए।
सोही अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले निगमको वित्तीय कारोबारमा आफ्नो सहभागितासहित नयाँ प्रविधि व्यवस्थित गर्ने अवसर पाएको बताउँदै भविष्यमा उल्लेखनीय एवं स्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।