काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले विमानस्थलमा यात्रुको भीडभाड बढेको र कोराना संक्रमण बढ्न सक्ने भन्दै आन्तरिक उडानको संख्या कटौती गर्ने तयारी गरेको छ।
विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारीका अनुसार अहिले आन्तरिक उडानतर्फका २५ देखि ३० प्रतिशत उडान कटौती गर्नेगरी छलफल भएको जनाकारी दिए।
‘उडान कटौती गर्ने विषयमा छलफल शुरु भएको छ। प्राधिकरणबाट पनि विमानस्थलमा भीडभाड नबढ्ने गरी उडान व्यवस्थापन गर्ने निर्देशन भएको छ’, तिवारीले भने, ‘यस विषयमा हवाई सेवा प्रदायक कम्पनीहरूसँग पनि छलफल गरेर निर्णय लिन्छौं।’
गत वर्षको लकडाउनपछि खुलेको आन्तरिक उडानको संख्या दिनप्रतिदिन बढेर विमानस्थलमा यात्रुको भीड बढेपछि सरकारले उडान संख्या कटौती गर्ने तयारी गरेको हो।
‘मौसम क्लियर हुँदा अहिले भइरहेकै उडान सहजै हुने गरेका छन्। तर, अहिलेको अवस्थामा भीडभाड कम गर्न आवश्यक छ। मौसम क्लियर नहुँदा डोमस्टिक टर्मिनल भवनभित्र यात्रु खचाखच हुन्छन्,’ तिवारीले भने, ‘सावधानी अपनाउनै पर्यो। भीडभाड कम होस् भन्ने उद्देश्यले प्राधिकरणले यो समयमा उडान संख्या घटाउने योजना बनाएको हो। सबै अध्ययन गरेर केही दिनका लागि घटाउन लागिएको हो। उडान संख्या कति हुने भन्ने टुंगो लगाउने छौं।’
कोरोनाको नयाँ प्रकार फैलिएसँगै दिनदिनै नेपालमा संक्रमण बढेपनि विमानस्थलबाट यात्रा गर्नेहरूको संख्यामा कुनै कमी आएको छैन। संक्रमण बढेपछि बसको तुलनामा छिटो गन्तव्यमा पुगिने भएकाले यात्रुको रोजाइमा हवाई यात्रा पर्न थालेको छ। एयरलाइन्सहरूले भने उडान कटौतीभन्दा पनि सुरक्षाका उपायामा कडाइ गर्नुपर्ने सुझाव दिँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।