काठमाडाैं- भूकम्पले ढलेको ६ वर्षपछि नयाँ धरहरा ठडिएको छ। सुनधारामा नवनिर्मित धरहराको आज उद्घाटन हुँदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विहान ११ बजे धरहराको उद्घाटन गर्ने कार्यक्रम छ।
२०७२ वैशाख १२ को भूकम्पले ढलेको धरहरासँगै जोडेर नयाँ धरहरा बनाइएको हो। भूकम्पबाट क्षतिग्रस्त धरहरालाई भने सिसाले छोपेर राख्ने तयारी गरिएको छ।
तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीको सम्झनास्वरुप १८८२ सालमा धरहराको निर्माण गर्न लगाएका थिए। १९९० सालको भूकम्पले भत्किनु अगाडि धरहरा ११ तलाको थियो। १९९० माघ २ को भूकम्पले बर्दाली माथिको १० र ११ तला भत्किएको थियो। ९० सालमा भत्किएपछि तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले दुई वर्षपछि नाै तला नै कायम गरी धरहराको पुन:निर्माण गराएका थिए।
०७२ सालको भूकम्पले नाै तले धरहरा पूर्णरुपमा ध्वस्त बनाएको थियो। नयाँ बनाइएको धरहरा २२ तलाको छ।
राष्ट्रिय पुनिर्माण प्राधिकरणका अनुसार नयाँ धरहराको निर्माणमा सिमेन्ट, फलामलगायत आधुनिक प्रविधिको प्रयोग गरिएको छ। पहिलेको धरहरा चुना र सुर्कीले बनेको थियो। धरहराको गजुरमा ९८ केजी सुनको जलप लगाइएको प्राधिकरणको भनाइ छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्ने धरहरा सर्वसाधारणका लागि भने करिब आठ महिनापछि मात्रै खुला गरिने जानकारी दिइएको छ।
धरहराको मुख्य संरचना 'टावर' बने पनि अन्य काम बाँकी नै छ। प्राधिकरणका अनुसार धरहरा परिसरमा निर्माण हुने सबै संरचनाको ५० प्रतिशतभन्दा बढी काम बाँकी छ। धरहरा क्षेत्रमा वाटर फाउन्टेनसहितको पार्क बन्नेछ।
साथै, ४०० चार पांग्रे र एक हजार वटा दुई पांग्रे सवारीसाधन पार्क गर्न मिल्ने गरी पार्किङ स्थल पनि बनाइँदै छ। धरहरा परिसरमा म्युजियमका साथै नेपालमा उत्पादन हुने सामानहरुको पसल समेत रहने जनाइएको छ। धरहरा चढ्नलाई दुईवटा लिफ्ट रहनेछन् भने पहिलाको जस्तै सिँढीको व्यवस्था पनि हुनेछ।
सिमेन्ट र फलामको प्रयोग गरेर निर्माण गरिएका कारण सम्पदाविद्हरुले भने नयाँ धरहरालाई 'झिल्के टावर'को संज्ञा दिने गरेका छन्। नवनिर्मित धरहरा भीमसेन थापाले बनाएको जस्तै ऐतिहासिक नहुने सम्पदाविद्हरुको भनाइ छ। अहिले बनेको धरहरा पुन:निर्माण नभइ नवनिर्माण मात्रै भएकाले यसलाई 'टावर' मात्रै भन्नुपर्ने उनीहरुको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।