काठमाडौं- काठमाडौंको सिनामंगलस्थित सुरिया हेल्थकेयर प्रालिको पीसीआर परीक्षण रिपोर्ट लिएर विदेश जान लागेका १७२ यात्रुलाई फिर्ता पठाइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले उक्त ल्याबमाथि छानबिन भइरहेकाले ल्याबको रिपोर्ट लिएर विदेश जान लागेकाहरूलाई फिर्ता पठाइएको नेपाल लाइभलाई बताए।
उक्त ल्याबले स्वाब नै जाँच नगरी पीसीआर नेगेटिभ भएको रिपोर्ट दिने गरेको पाइएको भन्दै मंगलबारमात्रै महानगरीय अपराध महाशाखाले छापा मारेको थियो। सो क्रममा ल्याबका सञ्चालकसहित ८ जनालाई पक्राउ गरेको थियो। उक्त ल्याबमाथि अनुसन्धान भइरहेको छ।
विमानस्थल कार्यालयले सलाम एयरका ३३, जजिरा एयरका ३६ र एयर अरेबियाका ५४ जनालाई फिर्ता पठाएको छ। यसमध्ये ७२ जना नेपाली, भारतीय ४९ र पाकिस्तानी १ जना छन्।
यस्तै, प्रहरी हेल्थ डेस्कबाट ५० जनलाई फिर्ता पठाइएको छ। यसमध्ये नेपाली २९, भारतीय १९ र पाकिस्तानी २ जना रहेका विमानस्थल कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।