तस्वीर : रासस
काठमाडाैं- सर्वोच्च अदालतका नवनियुक्त दुई न्यायाधीशलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले शपथ गराएका छन्।
प्रधानन्यायाधीश राणाले सर्वोच्चमा हालै नियुक्त भएका न्यायाधीशहरू नहकुल सुवेदी र कुमार चुँडाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। उच्च अदालत पाटन र उच्च अदालत सुर्खेतमा मुख्य न्यायाधीश रहेका उनीहरूलाई न्याय परिषद्ले सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस गरेको थियो। उक्त सिफारिसपछि संवैधानिक व्यवस्था अनुसार संघीय संसद्को संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ गर्दै सर्वसम्वत रूपमा अनुमोदन गरेको थियो।
उनीहरूको शपथसँगै सर्वोच्च अदालतमा २१ जना स्थायी न्यायाधीश भएका छन्। सर्वोच्चमा २१ जना स्थायी न्यायाधीश हुने भन्दै अस्थायी न्यायाधीशको व्यवस्था संविधानमै हटाएको थियो। उनीहरूलाई ६ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायाधीश नियुक्त गरेकी थिइन्।
आजै तोकियो मुद्दा
नवनियुक्त दुई न्यायाधीशलाई प्रधानन्यायाधीश राणाले इजलास पनि तोकेका छन्। न्यायाधीश सुवेदी र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा पेशी तोकिएको छ।
उनीहरूको इजलासमा ३६ थान मुद्दाको पेशी रहेको छ। डा भट्टराई र सुवेदीको इजलासले सन्जेस तमाङविरुद्ध कमलादेवी सिंखडा भएको मुद्दाको सुनुवाइ गरिरहेको छ। त्यस्तै, न्यायाधीश कुमार चुडाललाई न्यायाधीश प्रकाशमानसिंह राउतको संयुक्त इजलासमा पेशी तोकिएको छ।
न्यायाधीश राउत र चुडालको इजलासमा ३० थान मुद्दाको पेशी रहेको छ। उक्त इजलासले गिताप्रसाद खनालविरुद्ध प्रधानमन्त्री कार्यालय भएको 'ख' नम्बरको मुद्दा सुनुवाइ गरिरहेको छ। संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपति भण्डारीले उनीहरूलाई नियुक्त गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।