काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा चालु आर्थिक वर्षमा ल्याएको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रका मजदुर लक्षित कोषलाई निरन्तरता दिने भएको छ।
कोरोनाबाट पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा सबैभन्दा बढी प्रभाव परेको र अझै पनि पर्यटन क्षेत्रमा मजदुरले अभाव झेल्नुपरेको निष्कर्ष निकाल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भन्दै अर्थ मन्त्रालयलयमा पठाएको छ।
चालु आर्थिक वर्षको बजेटमा घरेलु, साना तथा मझौला उद्यम तथा कोरोना प्रभावित पर्यटन व्यवसायका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि पाँच प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउन ५० अर्ब रुपैयाँको छुट्टै कोष खडा गर्ने विषय उल्लेख भएको थियो। सोही कार्यक्रमले अहिले पनि निरन्तरता पाउने मन्त्रालयको भनाइ छ।
नेपाल राष्ट्र बैंकमार्फत् सञ्चालन हुने यस कोषमा नेपाल सरकार, सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थान र दातृ निकायबाट प्राप्त हुने रकमसमेत रहने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।