काठमाडौं- नयाँ प्रकार (भेरियन्ट)को कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै कन्सुलर विभागले आफ्नो सेवा प्रवाहको प्रक्रियालाई परिमार्जन गरेको छ।
अब कन्सुलर विभागले १ पटकमा २५ जनालाई मात्रै सेवा प्रवाह गर्ने जनाएको छ। वैशाख १२ गतेदेखि लागू हुने गरी विभागले प्रमाणीकरणको समय बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्मका लागि निर्धारण गरिएको विभागले जानकारी दिएको छ।
प्रमाणीकरणका लागि सोधपुछ काउन्टरमा बिहान ८ बजेदेखि नै संकेत नम्बर सहितको फाराम वितरण गरिने छ। एक पटकमा २५ जनाका दरले सेवाग्राहीलाई संकेत नम्बरको क्रमअनुसार प्रमाणीकरण कार्यका लागि कार्यालय परिसर भित्र प्रवेश गराइने विभागले जानकारी दिएको छ।
यस्तै, नेपाल प्रहरीबाट अनलाइनमार्फत जारी हुने प्रहरी प्रतिवेदन (क्लियरेन्स सर्टिफिकेट) सेवाग्राहीहरुले रंगीन प्रिन्ट गरेर विभागको प्रमाणीकरण बिना नै विदेशी नियोगमा पेस गर्न सक्ने पनि जनाइएको छ। यससम्बन्धमा विभागले ३१ मे २०२० मा नै विदेशी नियोगहरुलाई जानकारी गराइ सकेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।