काठमाडौं- ६ जनाको ज्यान जानेगरी २०७७ जेठ १० गते रूकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा भएको घटनाका अधिकांश प्रतिवादीलाई सर्वाेच्च अदालतले थुनामा पठाउने आदेश गरेको छ। आरोपितले सर्वोच्चमा दायर गरेको निवेदनमा सुनुवाइ गर्दै अधिकांश प्रतिवादीलाई थुनामा पठाउने आदेश गरेको हो।
सर्वोच्चले सौरभ पुनसहित पाँच जनालाई धरौटीमा रिहा गर्ने र २१ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत सुर्खेतको आदेश सदर गरेको छ।न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुङ्गानाको इजलासले प्रतिवादीको निवेदनमा सुनुवाइ गर्दै मंगलबार यस्तो आदेश सुनाएको हो।
इजलासले केही आरोपितहरूको हकमा भने उच्चको फैसला उल्टाउने निर्णय गरेको छ। उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश बदर गर्दै साधारण तारेखमा रिहा गर्न आदेशमा भनिएको छ।
जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश र उच्चमा राय बाझिएपछि करिब दुई दर्जन आरोपित अदालतको आदेशविरुद्ध सर्वोच्चसम्म आएका थिए। जिल्ल्ला अदाललते २८ प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा, ३ जनालाई तारेखमा र १ जनालाई १ लाख धरौटीमा पठाउँदै युवतीलाई सुधार गृहमा पठाउने आदेश गरेको थियो।
जिल्लाको उक्त निर्णयविरुद्ध केही प्रतिवादीहरू उच्च अदालत सुर्खेत पुगेका थिए। धरौटीमा छाड्ने वा जिल्लाकै आदेश सदर गर्ने भन्नेबारे उच्चमा राय बाझिएको थियो। त्यसपछि उक्त रिट सर्वोच्चसम्म पुगेको हो।
सौरभ पुन, मोहन पुन मगर, सन्तोष मल्ल, भीमबहादुर पुन, विनोद मल्ल, तुलबहादुर मल्ल, रेशमबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, डम्बरबहादुर मल्ल, तिलक चन्द, विराज पुन मगर, टोपबहादुर मल्ल, मानबहादुर मल्ल, धनराज राना, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन, नविनकुमार घर्ती मगर, नेत्रबहादुर मल्ल र दुई नाबालकसहितले सर्वोच्चमा निवेदन दिएका थिए।
जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका २१ वर्षीय युवक नवराज विक र छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरी प्रेम सम्बन्धमा जोडिएपछि किशाेरीका अभिभावकले त्यसलाई अस्वीकार गरेका थिए।
तर, किशाेरीकै आग्रहमा नवराज आफ्ना १८ जना साथीलाई लिएर विवाहका लागि किशोरीलाई लिन जेठ १९ गते उनको घर जाँदा परिवार र स्थानीयले लखेट्दै आक्रमण गरेपछि ६ जना युवाको मृत्यु भएको थियो।
कुटाइकै क्रममा नवराजको मृत्यु भएपछि नदीमा फालेको आरोप नवराजका परिवारको छ। घटनामा नवराजसहित टिकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जु विक र गोविन्द शाही मारिएका थिए।
उनीहरूको पोष्टमार्टम रिपोर्टमा शरीरभर निलडाम देखिएको उल्लेख थियो भने मृत्युको कारण पानीमा डुब्नु उल्लेख थियो। यस घटनामा ३४ जनालाई प्रतिवादी बनाइएको थियो। तीमध्ये ५ जना फरार थिए भने ३ जना साधारण तारेखमा रिहा भएका थिए। दुई नाबालकलाई बाल सुधारगृह पठाइएको थियो। एक जना १ लाख धरौटीमा रिहा भएका थिए।
साधारण तारेखमा राख्ने आदेश भएका
१. सौरभ पुन
२. तुलाराम घर्ती
३. लोकेन्द्र घर्ती
४. भीमबहादुर बुढा
५. डिल्ली घर्ती
सर्वोच्चवाट पुर्पक्षमा पठाउने आदेश सदर हुनेमा
१.मोहन पुन मगर
२.सन्तोष मल्ल
३.भीमबहादुर पुन
४. बिनोद मल्ल
५.५४ रुकुम पश्चिम ३६(१)
६.५४ रुकुम पश्चिम ३६(३)
७.तुलबहादुर मल्ल
८.रेशम बहादुर मल्ल
९.डिल्लि मल्ल ठकुरी
१०.डम्बर मल्ल ठकुरी
११.तिलक चन्द
१२.बिराज पुन मगर
१३.टोपबहादुर मल्ल
१४.मान बहादुर मल्ल
१५.धनराज राना
१६.रमित पुन मगर
१७.सर्वजीत भन्ने सविन पुन
१८.नविनकुमार घर्ती मगर
१९.नेत्रबहादुर मल्ल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।