काठमाडाैं–नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्ने गरेको फोटो नेपाल प्रदर्शनी यस पटक बारपाकका फोटाहरुको अनलाइन प्रदर्शनी हुने भएको छ। २०७२ सालको विनासकारी भूकम्पको केन्द्रबिन्दु कारणले राष्ट्रिय-अन्तराष्ट्रिय रुपमा चर्चा पाएको बारपाक पर्यटकीय गाउँ हो।
सो ठाउँको प्रचार-प्रसारसँगै भूकम्प स्मृतिको सन्दर्भ पारेर अनलाइन फोटो प्रदर्शनी गर्न लागिएको हो। आफ्नो तस्बिर प्रदर्शन गर्न चाहनुहुनेले फोटो पठाएर सहभागी हुन सकिने र सहभागी हुन चाहनेका लागि फोटो खिच्ने तरिका बारेको प्रशिक्षण समेत आयोजना गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बताए।
प्रकृति, संस्कृतिलगायत आकर्षण समावेश गरिएको फोटोको प्रदर्शनी नेपाल पर्यटन बोर्डले नियमितरुपमा आयोजना गरिरहेको ह्यासट्याग फोटो नेपाल प्रदर्शनीअन्तर्गत बारपाक सुलिकोटको प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्त्व उजागर गर्ने उद्देश्यका साथ विभिन्न अनलाइन कार्यक्रमहरुको आयोजना गरिएको छ। प्रदर्शनी वैशाख १०बाट सुरु हुँदै छ।
उक्त प्रदर्शनीमा बारपाकलाई पहिचान दिने ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थल, बारपाकलाई चिनाउने पूर्वाधार, कृषि उत्पादन, विभिन्न जातजातिका भेषभूषा, संस्कृतिलगायत बारपाकका रमणीय दृष्यावलोकन गर्न सकिने स्थल, पर्यटकलाई आकर्षित गर्ने बस्तुका तस्बिर राखिनेछन्। तीनओटा उत्कृष्ट फोटाहरुलाई पुरस्कृत गरिनेछ।
प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ८ हजार र तेस्रो हुनेलाई ५ हजारको समेत व्यवस्था गरिएको छ। फोटो प्रदर्शनी वैशाख २२ सम्म हुने र साथै बारपाक सुलिकोट गाउँपालिकाको भर्चुअल टुर कार्यक्रम समेत आयोजना गरिनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।