काठमाडाैं- निजी हवाई सेवा प्रदायक बुद्ध एयरले आगामी मे १ देखि अन्तरप्रदेश उडान सुरू गर्ने भएको छ। कम्पनीले आइतबार पत्रकार सम्मेलन गरी अन्तरप्रदेश उडान घोषणा गरेको हो।
बुद्धले मुख्यत: पोखरालाई आधार बनाएर चारवटा गन्तव्यमा उडान गर्ने घोषणा गरेको छ। पोखरा-विराटनगर, पोखरा-सिमरा, पोखरा-नेपालगञ्ज, पोखरा-भैरहवा, भैरहवा-भरतपुर र तुम्लिङटार-विराटनगर गरी छ गन्तव्यमा उडान गर्ने कम्पनीले जानकारी दिएको छ।
यी गन्तव्यमा हुने उडानको भाडादरसमेत कम्पनीले सार्वजनिक गरेको छ। उक्त भाडा सबैभन्दा सस्तो हुने कम्पनीको भनाइ छ।
साथै, बुद्धले जनकपुरबाट भारतको अयोध्यामा पनि उडान सुरु गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।
बुद्ध एयरसँग हाल नाै वटा एटीआर-७२, तीनवटा एटीआर-४२ र दुई वटा विचक्राफ्ट गरी १४ जहाज छन्। बुद्धले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ। साथै, काठमाडौं र पोखराबाट माउन्टेन फ्लाइट गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।