काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले लुम्बिनी प्रदेशको नेपालगञ्जस्थित् राँझा विमानस्थल (नेपालगञ्ज विमानस्थल)मा नयाँ सुविधा सम्पन्न टर्मिनल भवन निर्माण गर्ने भएको छ।
प्राधिकरणले आन्तरिक हब विमानस्थलका रूपमा रहेको नेपालगञ्ज विमानस्थलमा ३ अर्ब रूपैयाँ खर्चँदै नयाँ टर्मिनल भवन बनाउन लागेको हो।
आन्तरिक विमानस्थलमा बढ्दो हवाई चाप र क्षेत्रीय उडानलाई मध्यनजर राख्दै नयाँ टर्मिनल भवन बनाउन लागेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए।
विमानस्थलमा निर्माण हुने टर्मिनल भवनका लागि प्राधिकरणले परामर्शदाता समेत नियुक्ति गरिसकेको प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। टर्मिनल भवनको डिजानइन समेत बनाइसकेको छ। प्राधिकरणले नेपालगञ्ज विमानस्थल विस्तार गुरुयोजन अनुरूपमा नयाँ टर्मिनल भवन बनाउन लागेको हो।
टर्मिलन भवन निर्माणका लागि अहिले निर्माण व्यवसायीको पूर्वछनोटको काम भइरहेको प्राधिकरणको भनाइ छ। १६६ विघा क्षेत्रफलमा फैलिएको विमानस्थलमा ४ हजार ४८ वर्गमिटर क्षेत्रफलमा नयाँ टर्मिनल भवन निर्माण हुनेछ। टर्मिनल भवन ३ तलाको हुनेछ। जसमा नयाँ एउटा तला सेमी बेसमेन्टको रूपमा हुने छ।
नेपालगञ्जबाट कर्णालीका डोल्पा, जुम्ला, हुम्ला, मुगु जिल्लाका विमानस्थलमा यात्रुवाहक तथा कार्गो उडान हुँदै आएको छ। यो आर्थिक वर्षभित्र निर्माणका लागि खरिद प्रक्रिया सम्पन्न हुने र तीन वर्षभित्र टर्मिनल बनिसक्ने प्राधिकरणको भनाइ छ।
साथै, प्राधिकरणले धावनमार्ग विस्तार लगायतका काम गरिरहेको छ। हाल १५ सय मिटर लामो रहेको धावनमार्गमा २ सय मिटर विस्तारको काम अगाडि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।