काठमाडाैं- मुख्यमन्त्री पुथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहितका दलले गण्डकी प्रदेशको विशेष अधिवेशन माग गर्दै निवेदन दिएका छन्। प्रदेशसभाका २८ सांसदको हस्ताक्षरसहित बिहीबार निवेदन दर्ता गरिएको हो।
मुख्यमन्त्री गुरुङको विपक्षमा अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि प्रदेशसभाको चालु अधिवेशन बुधबार मध्यरात अन्त्य गरिएको थियो। अकस्मात संसद् अधिवेशन अन्त्य गरिएपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतले विशेष अधिवेशनको माग गर्दै प्रस्ताव दर्ता गरेको नेपाली कांग्रेसका प्रदेश सांसद कुमार खड्काले जानकारी दिए।
सचिवालयमा निवेदन दर्ता भएकाले अब प्रदेश प्रमुख अमिक शेरचनले यसमा १५ दिनभित्र निर्णय गर्ने छन्। निवेदन दर्ता भएको यति दिनभित्र बोलाउनुपर्ने भन्ने कानुनी व्यवस्था नभएको र १५ दिनभित्र बोलाउने परम्परा रहेको उनले बताए। संसद्को विशेष अधिवेशनका लागि एक चौथाइ सांसदले हस्ताक्षर गरी माग गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
बिहीबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। कांग्रेसका १५ , माओवादी केन्द्रका ११ र जसपा दुई गरी २८ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको हो। माओवादीका एक जना प्रदेशसभा सदस्य सभामुख भएकाले उनीबाहेकका सांसदको हस्ताक्षरमा प्रस्ताव दर्ता भएको हो।
अधिवेशन सुरु भएको तीन दिनभित्र अविश्वासको प्रस्ताव टुङ्गोमा पुग्ने प्रदेशसभा सदस्य खड्काले बताए। पहिलो दिन पेस हुने, दोस्रो दिन छलफल हुँदै तेस्रो दिनमा यसको निर्णय हुने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।