काठमाडौं– संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री नभएको भन्दै सिंहदरबारभित्र कार्यरत नायव सुब्बाहरू आन्दोलित भएका छन्। यो ऐन हाल राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको छ।
संघीय निजामती सेवा ऐनमा कर्मचारीको मनोबल घटाउने खालको व्यवस्था भएको तथा ऐनको व्यवस्थाअनुसार नायव सुब्बामाथि अन्याय भएको भन्दै सिंहदरबारभित्रै प्रदर्शन गरेका हुन्।
राजपत्र अनङ्कित तृतीय श्रेणीको पदपूर्तिमा ३० प्रतिशत बढुवा कायम गरिनुपर्ने, रिक्त पदहरूमा आन्तरिक प्रतिस्पर्धाबाट पूर्ति गर्नुपर्ने तथा राजपत्र प्रथम र द्वितीय श्रेणीको खुल्ला विज्ञापनमा राजपत्र अनङ्कित कर्मचारीको अनुभवलाई पनि मान्यता दिनुपर्ने माग आफूहरूको रहेको नायव सुब्बा श्रीराम पौडेलले बताए।
प्रस्तावित निजामती सेवा ऐनले कर्मचारीको मनोबल घटाउने भएकाले विरोधमा शान्तिपूर्ण आन्दोलन गरिएको नायव सुब्बा लक्ष्मीप्रसाद शर्माले बताए।
प्रस्तावित ऐनले कर्मचारीको वृत्तिविकास, सेवा, सुविधा र अवसरलाई कुण्ठित गरेको आन्दोलनमा सहभागी नायव सुब्बा लक्ष्मण गुरागाईंले बताए।
आन्तरिक प्रतिस्पर्धाबाट वृत्तिविकासको बाटो पाउनुपर्ने मागलाई सम्बोधन गर्नुपर्ने अर्का नायव सुब्बा सुष्मा थापाले बताइन्।
सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका केही नायव सुब्बाहरूलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ। माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनीहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।