काठमाडौं– कोरोना भाइरस संक्रमणको दोस्रो लहरले संसारभर नै जनजीवन प्रभावित बनेको अवस्थामा सचेत बनेर नयाँ वर्ष मनाउन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आग्रह गरेका छन्।
नयाँ वर्षको यस अवसरमा शुभकामना दिँदै अध्यक्ष तिमिल्सिनाले छिट्टै महामारी अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।
कोरोना संक्रमणबाट मृत्यु हुनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनले विश्वभरका संक्रमितको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षाका साथ अगाडी बढेको नेपाललाई कोरोना महामारीले केही पछाडि धकेलेको उनको ठहर छ।
‘अहिले कोरोनाविरुद्धका विभिन्न खोप निर्माण तथा प्रयोग भइरहेको छ,’ उनको सन्देशमा उल्लेख छ, ‘यद्यपि कोरोना भाइरस नयाँ भेरियन्टका रुपमा तिब्र गतिमा फैलिरहेकाले थप सजकता र सक्रियताका साथ यसविरुद्ध लड्नु आवश्यक छ।’
महामारीबाट जोगिन सरकारले जारी गरेको निर्देशन, आचारसंहिता, सावधानीका उपाय र आह्वानलाई परिपालना गर्नु नै उत्तम उपाय रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।