काठमाडाैं- महान्यायाधिवक्ता कार्यालयले वयस्क महिलाले नाबालकलाई यौन दुरुपयोग गरे/गराएमा फौजदारी मुद्दा दायर गर्न देशभरका सरकारी वकिलको कार्यालयलाई आदेश दिएको छ।
महान्यायाधिवक्ता रमेश बडालको अध्यक्षतामा बसेको मुद्दा व्यवस्थापन समितिको बैठकले मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को उपदफा २ बमोजिम यस्तो मुद्दा दायर गर्न भनेको छ।
बालबालिका सम्बन्धी ऐनमा उल्लेख भएको कसूर बालिकाविरुद्ध मात्र नहुने भई बालककाविरुद्ध पनि हुने भएकोले मुलुकी अपराध संहिता अनुसार यस्तो कार्य गर्नेहरूलाई मुद्दा चलाउन निर्देशन दिएको हो।
मुलुकी अपराध संहिता र बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ मा उल्लेखित जुनसुकै कसूर कुनै वयस्क महिलाले बालक वा बालिका जोसुकै उपर गरेको भएपनि त्यसविरुद्ध उजुरी परे त्यस्ता महिलाउपर कानुनी व्यवस्था अनुसारको कसूरमा अनुसन्धान तथा अभियोजन सम्बन्धी कारबाही गर्न भनिएको छ।
कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौन सम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिने संहिताको दफा २ मा उल्लेख छ। यस्तो कार्य गर्नेलाई ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने संहितामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।