काठमाडौं- नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पको सरकार बनाएर चुनावमा जान सकिने संकेत गरेका छन्। शुक्रबार बसेको तीन दलको बैठकमा उनले प्रधानमन्त्री ओलीले भनेजस्तै ताजा जनादेशमा जान तयार रहेको बताएका हुन्।
प्रधानमन्त्री ओलीकै नेतृत्वमा भने चुनावमा जान नसकिने सभापति देउवाको भनाइ छ। उनको भनाइ उद्धृत गर्दै माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘चुनाव नै गराउने भए जुन सरकार भए पनि त्यति फरक पर्ने थिएन होला। तर, केपी ओलीचाहिँ सर्वसत्तावादी भए।’
सभापति देउवाले ओली राज्यसत्ता कब्जा गर्न खोजिरहेको आरोप पनि लगाएका छन्। उनले बैठकमा प्रहरी, प्रशासन र सेनालाई आफ्नो पार्टीअन्तर्गत चलाउन खोजिरहेकोसमेत बताए। यस्तो सरकारले गरेको निर्वाचन लोकतान्त्रिक नहुने भएकाले निर्वाचनकै लागि भए पनि नयाँ सरकार जरुरी रहेको उनको भनाइ थियो।
सभापति देउवाले शुक्रबार दिउँसो भएको एक कार्यक्रममा चुनावी तयारीमा लाग्न सबैलाई आग्रह गरेका थिए। कांग्रेसको नेतृत्वमा सरकार गठन गरेर अघि बढ्न सक्ने अवस्था नरहेको भन्दै उनले यस्तो बताएका थिए।
उनले कुनै पनि किसिमको राष्ट्रिय एकता, अखण्डतामा आँच पुग्न नदिने गरी भयो भने निर्वाचनमा जान सकिने बताएका थिए। उनले भनेका थिए, ‘चुनाव अहिले भएन भने पनि एकदिन चुनावमा जानैपर्छ। चुनावमा जानैपर्ने बाध्यता हुन सक्छ। चुनावमा जनताको मन जितेर हामीले सरकार बनाउनुपर्छ।’
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पहिलो अजेन्डा नयाँ सरकार गठन रहेको बताए। त्यसपछि मात्रै निर्वाचनका विषयमा छलफल हुने उनले बताए। छलफलका क्रममा निर्वाचनको विषय पनि उठेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।