काठमाडौं- नेपाली कांग्रेसले औपचारिक रुपमा आफ्नो पार्टीको नेतृत्वको सरकार बनाउने प्रस्ताव गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीले कांग्रेसकै नेतृत्वमा सरकार बनाउने प्रस्ताव नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) समक्ष राखेका हुन्।
माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरुसमक्ष सरकार बनाउनका लागि सभापति देउवाबाट औपचारिक प्रस्ताव गरेको जानकारी दिएका हुन्। उनले भने, ‘सभापति देउवाले सुरुमै नेपाली कांग्रेसको आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। तपाईंहरुले समर्थन गर्नुपर्यो भनेर दुई दलका नेतालाई प्रस्ताव राख्नुभयो।’
चुनाव नै गराउने सरकार भएकाले जसको नेतृत्वमा भएपनि हुन्थ्यो तर प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा चाहिँ हुन नसक्ने कांग्रेसले बताएको छ।
छलफलका क्रममा देउवाले प्रधानमन्त्री ओली सर्वसत्तावादी भएको तथा प्रहरी, प्रशासन र सेनालाई आफूअनुकूल चलाउन खोजेको बताएका थिए। त्यसैले उनको हातबाट लोकतान्त्रिक चुनाव हुन नसक्ने उनको भनाइ थियो।
माओवादी केन्द्र ओलीको विकल्प खोज्ने विषयमा सकारात्मक देखिएको छ। माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठले ओलीको विकल्पमा गठन हुने सरकारलाई आफ्नो पार्टीले समर्थन गर्ने जाकारी दिए।
तर, जनता समाजवादी पार्टीले भने यस विषयमा छलफल गरेर मात्रै निष्कर्षमा पुग्ने बताएको छ। जसपाका नेता महन्थ ठाकुरले बैठकपछि भने, ‘औपचारिक रुपमा कांग्रेसले पहिलोपल्ट आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव गरेको छ। तर, यस विषयमा हाम्रो छलफल हुनै बाँकी छ।’
जसपाले केही समयमै आफ्नो दलको बैठक बसेर यस विषयमा निर्णय लिने बताएको छ। आफ्ना केही अजेन्डा र मुद्दा रहेकाले ती विषयलाई समेत शुक्रबारको बैठकमा जसपाका नेताले उठाएका थिए। त्यसलाई सम्बोधन गर्ने सरकारलाई आफ्नो समर्थन रहेको संकेत गरेका छन्।
कांग्रेस सभापति देउवाको पहलमा तीन दलको बैठक बसेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।