फाइल तस्बिर। काठमाडाैं- अनुयायीलाई बलात्कारको आरोप लागेका सिद्धाबाबा भनिने कृष्णबहादुर गिरीले आफूलाई सफाइ दिने फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दर्ता गराएका छन्।
सरकारी पक्षले पुनरावेदन दर्ता गराएर विपक्षी झिकाउन आदेश गरेपछि गिरीको निवेदन आएको र बिहीबार दर्ता भएको उच्च अदालत विराटनगरका प्रवक्ता ओमराज सुवेदीले बताए।
जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका उनी आफैं त्यसमा सन्तुष्ट नभएर उच्च पुगेकाले अब दुवै मुद्दाको सुनुवाइ सँगै हुने सुवेदीले बताए। सरकारका तर्फबाट फागुन २८ गते उच्च अदालत विरानगरमा जिल्लाको फैसला त्रुटीपूर्ण भएको दाबी गर्दै निवेदन दर्ता भएको थियो। निवेदनमा चैत १३ गते उच्च अदालतले प्रत्यार्थी झिकाउने आदेश गरेको थियो।
न्यायाधीशद्वय प्रेमराज ढकाल र रेणुका शाहको इजलासले प्रत्यार्थी झिकाउने आदेश गरेको थियो। अदालतले उनलाई १५ दिनभित्र मुद्दामा बहसका लागि बुझ्न आदेश गरेको छ। उच्चले झगडिया झिकाउने आदेश गरेसँगै जिल्ला अदालतको सफाइ दिने निर्णयको परीक्षण शुरु भएको थियो।
जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाले इजलासले गिरीलाई सफाइ दिएको थियो। कोइराला अहिले उच्च अदालतको न्यायाधीशमा बढुवा भएका छन्। कोइरालाले सिद्धबाबाले 'बलात्कार गरेको नभई महिलाले शरीर समर्पण' गरेको व्याख्या गर्दै सफाइ दिएका थिए।
२०७६ पुस १० गते गिरीले आफ्नै एक अनुयायीलाई बलात्कार (जबरजस्ती करणी)गरेको भन्दै हदैसम्मको कैद सजाय माग गरेर दायर भएको मुद्दामा सुनसरी जिल्ला अदालतले २०७७ मंसिरमा फैसला गरेको थियो।
जिल्ला अदालतदेखि उच्च अदालत हुँदै सर्वोच्चसम्म गुहारेर पुर्पक्षका लागि थुनामा गएका गिरीलाई जिल्ला अदालतले सफाइ दिएको विषय पनि विवादमा परेको थियो।
सम्बन्धित समाचार :
बलात्कार मुद्दामा सिद्धबाबालाई झिकाउने उच्च अदालतको आदेश
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।