फाइल तस्बिर काठमाडाैं- उच्च अदालत विराटनगरले बलात्कार आरोपमा जिल्ला अदालतबाट सफाइ पाएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई झिकाउने आदेश गरेको छ।
न्यायाधीशद्धय प्रेमराज ढकाल र रेणुका शाहको इजलाशले प्रत्यार्थी झिकाउने आदेश गरेको हो। अदालतले उनलाई १५ दिनभित्र मुद्दामा बहसका लागि बुझ्न आदेश गरेको छ।
उच्चले झगडिया झिकाउने आदेश गरेसँगै जिल्ला अदालतको सफाइ दिने निर्णयको परीक्षण सुरु भएको छ।
सिद्धबाबालाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालत विराटनगरमा फागुन २८ गते पुनरावेदन निवेदन दिएको थियो।
जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाले इजलासले उनलाई सफाइ दिएकाे थियो। कोइराला अहिले उच्च अदालतको न्यायाधीशमा बढुवा भएका छन्। कोइरालाले सिद्धबाबाले बलात्कार गरेको नभई महिलाले शरीर समर्पण गरेको व्याख्या गर्दै सफाइ दिएका थिए।
२०७६ पुस १० गते गिरीले आफ्नै एक अनुयायीलाई बलात्कार (जबरजस्ती करणी)गरेको भन्दै हदैसम्मको कैद सजाय माग गरेर दायर भएको मुद्दामा सुनसरी जिल्ला अदालतले २०७७ मंसिरमा फैसला गरेको थियो।
जिल्ला अदालतदेखि उच्च अदालत हुँदै सर्वोच्चसम्म गुहारेर पुर्पक्षका लागि थुनामा गएका गिरीलाई जिल्ला अदालतले गरेको सफाइ दिएको विषय पनि विवादमा परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।