काठमाडौं- एसियाली विकास बैंक (एडीबी) नेपालमा विकास सहायता रकम उपलब्ध गराउने सबैभन्दा ठूलो दातृ निकायका रुपमा देखिएको छ।
अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको 'विकास साझेदारी प्रतिवेदन-२०२०' अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा नेपालले पाएको कूल दुई अर्ब ३० लाख अमेरिकी डलर बराबरको वैदेशिक सहायता रकममा एडीबीको ३१ प्रतिशत हिस्सा छ।
त्यस्तै, गत आर्थिक वर्षमा नेपालले प्राप्त गरेको वैदेशिक सहायता रकममा विश्व बैंकको २३ प्रतिशत, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को ११ प्रतिशत, संयुक्त राज्य अमेरिकाको छ प्रतिशत र चीन, भारत तथा बेलायतको समान पाँच-पाँच प्रतिशत योगदान रहेको छ।
प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा नेपालले एडीबीसँग लिएको ऋण रकम मात्र ५७ करोड २० लाख अमेरिकी डलर बराबर छ। त्यस्तै विश्व बैंकसँग ४३ करोड अमेरिकी डलर र आईएमएफसँग २१ करोड ४० लाख अमेरिकी डलर ऋण लिएको देखिन्छ।

गत आर्थिक वर्षमा नेपालले पाएको कूल वैदेशिक सहायताको रकममध्ये स्वास्थ्य क्षेत्रमा सबैभन्दा धेरै ३१ करोड ८० लाख अमेरिकी डलर बराबर रहेको छ।
त्यस्तै आर्थिक पुनरुत्थानका कार्यक्रममा २१ करोड ८० लाख, आवासका क्षेत्रमा १५ करोड ३० लाख, ऊर्जाका क्षेत्रमा १४ करोड ३० लाख, सडक पूर्वाधारका क्षेत्रमा १३ करोड ९० लाख र शिक्षाका क्षेत्रमा १३ करोड ३० लाख अमेरिकी डलर बराबर विदेशी सहायता लिएको प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।